‘कबड्डी ५’को छायांकन सुरू

15 October, 2025 96 Views
‘कबड्डी ५’को छायांकन सुरू
96

असोज, काठमाडौं । चर्चित फ्रेन्चाइज फिल्म ‘कबड्डी’को अब पाँचौँ श्रृंखला निर्माण हुँदैछ । चौथो भागलाई नै अन्तिम श्रृंखला भनिए पनि निर्माण पक्षले नयाँ कथामा ‘कबड्डी ५’ बनाउन लागेको हो । सोमबारबाट यो फिल्मको छायांकन सुरू गरिएको छ । मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गरेपछि लार्जुङ बस्तीमा पहिलो दृश्य खिचियो ।

फिल्ममा ‘कबड्डी’ श्रृंखलाकै धेरैजसो कलाकार दोहोरिएका छन् भने नयाँ अनुहारको पनि प्रवेश भएको छ । चौथौ श्रृंखलामा जोडी भएर काम गरेका दयाहाङ राई र मिरुना मगरसहित विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, शिशिर वाङ्गदेल लगायतको अभिनय रहने यो फिल्मबाट पूर्वमिस यूके नेपाल सिर्जना गुरुङले डेब्यु गर्दैछिन् ।

यस फिल्ममा दर्शकले अभिनेत्री रिश्मा गुरुङ लाई पनि देख्न पाउनेछन् । ‘कबड्डी’को पहिलो र दोस्रो श्रृंखलामा उनी मुख्य भूमिकामा थिइन् । तेस्रोमा केमियोमा सीमित भएकी उनी चौथो श्रृंखलामा भने अटेकी थिइनन् । उनले यसै साता फिल्मको छायांकन सुरू गर्ने जनाइएको छ ।

‘कबड्डी ५’मा अभिनेता विपिन कार्कीको पनि मुख्य भूमिका रहने निर्माता मणिराम पोखरेलले जानकारी दिए । विपिन तिहारपछि मात्र फिल्मको छायांकनमा जोडिनेछन् । रामबाबु गुरुङको निर्देशनमा बन्ने फिल्मको छायांकन ७० प्रतिशत मुस्ताङमा र ३० प्रतिशत काठमाडौंमा हुनेछ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको यो फिल्मको छायाँकारमा सञ्जय लामा छन् । 

Related Post