कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, महाधिवेशनपछि जिम्मेवारी बाँडफाँटदेखि संगठन विस्तारसम्म छलफल

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, महाधिवेशनपछि जिम्मेवारी बाँडफाँटदेखि संगठन विस्तारसम्म छलफल
39
 

 

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) देखि सुरु हुँदैछ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने तयारी गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिनेसम्बन्धी विषय तथा पार्टीको ‘हामी तयार छौँ’ अभियानबारे छलफल हुने कार्यसूची छ।

कांग्रेसले केन्द्रीय सदस्यहरूलाई शपथग्रहणकै क्रममा आफूले काम गर्न इच्छुक क्षेत्र छनोट गरी त्यससम्बन्धी योजना पेस गर्न निर्देशन दिएको थियो। सोहीअनुसार सदस्यहरूले बुझाएको विवरण र उनीहरूलाई जिम्मेवारी दिने विषय बैठकमा छलफल हुने बताइएको छ।

त्यस्तै, मंसिर १ गतेदेखि सञ्चालनमा रहेको ‘हामी तयार छौँ’ अभियानको प्रभावकारिता, आगामी कार्यदिशा र त्यसलाई थप व्यवस्थित बनाउने विषयले पनि बैठकमा प्राथमिकता पाउनेछ।

यसपटकको बैठकमा केन्द्रीय सदस्यहरूलाई समेत आफ्नो धारणा राख्ने अवसर दिइने भएकाले छलफल चारदेखि पाँच दिनसम्म लम्बिन सक्ने सम्भावना रहेको छ।

गत असोज १८ देखि २२ गतेसम्म सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ जना केन्द्रीय सदस्य निर्वाचित भएर आएका छन्। तर, चार सहमहामन्त्रीसहित ६६ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ।

सभापति गगन थापाले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी तथा सदस्य मनोनयन गर्नुपर्ने भए पनि अहिलेसम्म उक्त प्रक्रिया अघि बढाएका छैनन्। पार्टीका प्रवक्ता र सहप्रवक्तासमेत तोकिएका छैनन्।

यही पृष्ठभूमिमा सुरु हुन लागेको बैठकलाई केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, संगठनात्मक व्यवस्थापन र पार्टीको आगामी राजनीतिक रणनीति तय गर्ने दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

 

Related Post