कांग्रेस महाधिवेशनमा उम्मेदवारीको होड : सभापतिमा थापा बलियो, महामन्त्रीमा आकांक्षीको भीड

05 October, 2026 97 Views
कांग्रेस महाधिवेशनमा उम्मेदवारीको होड : सभापतिमा थापा बलियो, महामन्त्रीमा आकांक्षीको भीड
97

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेसँगै पदाधिकारीका विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ।

सभापति पदमा गगनकुमार थापा बलियो दाबेदारका रूपमा देखिएका छन् भने उपसभापति र महामन्त्री पदमा आकांक्षीहरूको संख्या बढ्दै गएको छ। सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा समेत नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।

महाधिवेशनको बन्दसत्र सुरु भइसकेको छ। निर्वाचन समितिको कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। त्यसैले अहिले सार्वजनिक भएका नामलाई औपचारिक उम्मेदवारभन्दा उम्मेदवारी घोषणा गरेका वा दाबी प्रस्तुत गरेका नेताका रूपमा बुझ्नुपर्ने हुन्छ।

सभापतिमा थापा र राठोर आमनेसामने

सभापति पदमा वर्तमान सभापति गगनकुमार थापा प्रमुख दाबेदारका रूपमा अगाडि देखिएका छन्। विशेष महाधिवेशनबाट सभापतिको जिम्मेवारी सम्हालेका थापा नियमित महाधिवेशनबाट पनि नेतृत्वलाई निरन्तरता दिने तयारीमा छन्।

थापालाई चुनौती दिने भन्दै पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। यद्यपि, उम्मेदवारी दर्ताको अन्तिम समयमा राठोरले आफ्नो दाबी फिर्ता लिन सक्ने र थापा निर्विरोध सभापति बन्न सक्ने सम्भावनाबारे कांग्रेसभित्र चर्चा भइरहेको छ।

उपसभापतिमा आकांक्षीको लाम

कांग्रेसले विधान संशोधनमार्फत उपसभापतिको संख्या दुईबाट चार पुर्‍याउने प्रस्ताव अघि सारेको छ। प्रस्तावित संरचनाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापतिसहित चार उपसभापति रहने व्यवस्था हुनेछ।

उपसभापतिका लागि विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, भीष्मराज आङ्देम्बे, गोविन्द भट्टराई, दीपक गिरी, जीवन परियार र विनोद चौधरीलगायतका नेताहरूको नाम चर्चामा छ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यसअघि विधानमा तीन उपसभापतिको व्यवस्था भए आफू उम्मेदवार बन्ने बताएका थिए। अहिले चार उपसभापतिको संरचना अघि बढेपछि उनको उम्मेदवारीको सम्भावना थप बलियो बनेको छ।

महामन्त्रीमा भिडन्त झनै रोचक

कांग्रेसको १५औँ महाधिवेशनमा सबैभन्दा पेचिलो प्रतिस्पर्धा महामन्त्री पदमा देखिएको छ। दुई महामन्त्री पदका लागि दर्जन हाराहारी नेताहरूले उम्मेदवारीको तयारी गरिरहेका छन्।

महामन्त्रीका लागि प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, मधु आचार्य, नैनसिंह महर, सुनील शर्मा, अमरसिंह पुन, शंकर तिवारी, आङ्गेलु शेर्पा, महालक्ष्मी उपाध्याय ‘डिना’ र डा. सन्तोष उपाध्यायलगायतका नेताहरूको नाम चर्चामा छ।

यसअघि महामन्त्रीका आकांक्षीका रूपमा चर्चा भएका जीवन परियारले भने उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

सहमहामन्त्रीमा पनि बढ्दो प्रतिस्पर्धा

कांग्रेसका विभिन्न समावेशी क्लस्टरबाट सहमहामन्त्रीका लागि पनि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ।

मीनबहादुर विश्वकर्मा, जीवनबहादुर शाही, रामहरि खतिवडा, प्रतिमा गौतम, मनोजमणि आचार्य, योगेश गौचन, डिला संग्रौला, प्रकाश रसाइली ‘स्नेही’, फरमुल्लाह मन्सुर, सीता गुरुङ, ओमबहादुर घर्ती, अजयबाबु शिवाकोटी, योगेन्द्र चौधरी, विकास कोइराला, मुक्ताकुमारी यादव, अभिषेकप्रताप शाह, अब्दुल सत्तार र ईश्वरीदेवी न्यौपानेलगायतले विभिन्न क्लस्टरबाट दाबी प्रस्तुत गरेका छन्।

यसपटक सहमहामन्त्रीको संख्या पनि बढाउने प्रस्ताव अघि बढाइएकाले यो पदमा आकांक्षीहरूको संख्या उल्लेख्य रूपमा बढेको हो।

कोषाध्यक्षमा अझै खुलेन प्रतिस्पर्धाको तस्वीर

कोषाध्यक्ष पदमा भने अन्य पदको तुलनामा उम्मेदवारी घोषणा गर्ने क्रम न्यून देखिएको छ। विशेष महाधिवेशनपछि उमेश श्रेष्ठलाई कांग्रेसले केन्द्रीय कोषाध्यक्षमा मनोनयन गरेको थियो।

त्यसैले कोषाध्यक्ष पदको वास्तविक प्रतिस्पर्धा उम्मेदवारी मनोनयनपछि मात्रै प्रस्ट हुने देखिएको छ।

प्यानल होइन, ‘फ्रि भोट’को चर्चा

यसपटक कांग्रेस महाधिवेशनको अर्को महत्वपूर्ण पक्ष प्यानल बनाएर चुनाव लड्ने परम्परागत अभ्यासमा परिवर्तन आउन सक्ने सम्भावना हो।

नेताहरूले आ–आफ्नो पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने र महाधिवेशन प्रतिनिधिले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गर्ने ‘फ्रि भोट’को अवस्था बन्न सक्ने कांग्रेस नेताहरू बताउँछन्।

यदि यस्तो अभ्यास स्थापित भयो भने सभापतिका उम्मेदवारले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा आफ्नै ‘टिम’ खडा गरेर अघि बढ्ने परम्परा कमजोर हुन सक्छ। एउटै समूहमा रहेका नेताहरूबीच समेत चुनावी प्रतिस्पर्धा तीव्र बन्ने सम्भावना छ।

८०० नाघ्न सक्छ उम्मेदवारको संख्या

अहिलेसम्मको तयारी र पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीको संख्या हेर्दा कांग्रेस महाधिवेशनमा उम्मेदवारको संख्या ८०० भन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ।

प्रस्तावित संरचनाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय बनाउने तयारी छ। त्यसमध्ये ६१ जना सभापतिबाट मनोनयन हुने र बाँकी सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था अघि सारिएको छ।

नयाँ संरचनाले बढायो नेतृत्वको दौड

महाधिवेशनमा पदाधिकारीको संख्या बढाउनुको प्रमुख उद्देश्य पार्टीभित्र बढेको नेतृत्व आकांक्षालाई व्यवस्थापन गर्नु पनि रहेको देखिन्छ।

प्रस्तावित संरचनामा एक सभापति, चार उपसभापति, दुई महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्ष रहने व्यवस्था अघि बढाइएको छ। त्यस्तै, केन्द्रीय कार्यसमितिको आकार बढाउने तथा ३५ वर्षमुनिका युवालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने नयाँ व्यवस्था पनि अघि सारिएको छ।

उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहे पनि कांग्रेसको महाधिवेशनको वास्तविक चुनावी तस्वीर भने मनोनयन दर्तापछि मात्रै स्पष्ट हुनेछ।

निर्वाचन कार्यतालिकाअनुसार असोज २० गते उम्मेदवारी मनोनयन हुनेछ। त्यसपछि दाबी–विरोध, नाम फिर्ता तथा सच्याउने प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ। नेतृत्व चयनका लागि असोज २२ गते मतदान गर्ने कार्यतालिका छ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा चलेको उम्मेदवारीको होड अब औपचारिक चुनावी प्रतिस्पर्धातर्फ उन्मुख भएको छ। सभापतिमा थापाको अवस्था तुलनात्मक रूपमा बलियो देखिए पनि उपसभापति र विशेषगरी महामन्त्री पदमा आकांक्षीको बाक्लो उपस्थितिले महाधिवेशनको चुनावी समीकरणलाई थप पेचिलो बनाएको छ।

Related Post