काठमाडौँ । युएईको दुबैस्थित क्वान्टम युनिभर्सिटी को नाममा नेपाली विद्यार्थीमाथि गरिएको योजनाबद्ध ठगी कार्यबारे ठूलो पर्दाफास भएको छ। नेपालबाट अध्ययनका लागि चर्को मुल्य तिरेर दुबई पठाइएका सयौँ विद्यार्थी अहिले शैक्षिक अन्योल, आर्थिक शोषण र मानसिक त्रासको मारमा परिरहेका छन्। यस जालमा मुख्यरूपमा संलग्न व्यक्ति राईत पथ एजुकेशन कन्सल्टेन्सी का सञ्चालक फिलिप डि.सी रहेको पीडितहरूको आरोप छ।
नेपालमा उत्कृष्ट कलेज, आकर्षक क्याम्पस, फरक–फरक विषयअनुसार छुट्टाछुट्टै कक्षाकोठा, अनुभवी प्रोफेसर र प्रशस्त पार्ट–टाइम कामको सपना देखाएर विद्यार्थीलाई प्रलोभनमा पारिन्छ । तर दुबई पुगेपछि विद्यार्थीहरूले पाउने वास्तविकता भने भाडामा लिएको एउटा मात्र कोठा, एउटै शिक्षकबाट स्नातकदेखी स्नाकोत्तरसम्म सबै विषय पढाइ, अव्यवस्थित आवास र शून्य व्यवस्थापन मात्रै हुन्छ।
विद्यार्थीका अनुसार, डि.सी र उसका प्रतिनिधिहरू नेपालमा कलेजको नाममा आकर्षक फोटो–भिडियो देखाएर प्रलोभन दिन्छन्। तर त्यहाँ पुगेपछि कलेजको भौतिक संरचना देखिने कुनै ठाउँ नै छैन। बिद्यार्थीलाई देखाइएको भवन र वास्तविकतामा जमिन–आकाशको फरक रहेको बिद्यार्थीहरु बताउछन् । ब्याचलर, मास्टर, आइटी, बिजनेस, हस्पिटालिटी जे विषयका विद्यार्थी भए पनि सबैलाई एउटै कक्षामा राखेर एउटै व्यक्तिबाट पढाइ हुन्छ। यस्तो अवस्थामा विद्यार्थीले गुनासो गरेपछि सहजीकरण र समाधान गर्नुको साटो डि.सी सम्पर्कमा आउन नचाहने र सम्पर्कमा आएपनी उल्टै बिभिन्न किसिमका धम्की दिने, कलेजबाट निकालिदिन्छु, फर्काइदिन्छु जस्ता शब्द प्रयोग गर्ने गरेको पीडितहरू बताउँछन्। क्वान्टम युनिभर्सिटी को नाममा भएको यो जालझेल डि.सीकै लगानी र नियन्त्रणमा चल्ने गरेको विद्यार्थीको दाबी छ।
हामीले बारम्बार सम्पर्क गर्दा पनि दिलिप डि.सी सम्पर्कमा आउन अस्वीकार गरेका छन्। अहिले पनि दर्जनौँ नेपाली विद्यार्थी दुबईमा अलपत्र छन् । न कलेजको मान्यता छ, न काम, न बसोबास स्थिर। विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने यस्तो ठगी सञ्जाल तत्काल छानबिन र कारबाहीको दायरामा आउनुपर्छ भन्ने माग तीव्र बनेको छ।