कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

09 August, 2026 17 Views
कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए
17

काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता ६५ वर्षीय किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन्। शुक्रबारदेखि सम्पर्कविहीन भएका सिंहको शव आइतबार निरन्तर खोजी गर्ने क्रममा जंगलको बीच भागमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। सिंहले प्रयोग गर्ने मोटरसाइकल पनि जंगलमै भेटिएको थियो।

कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार सिंहको शव जंगलको बीच भागमा भेटिएको थियो। उनको शव भेटिएको स्थान पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र रहेको प्रहरीले जनाएको छ।

सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट मोटरसाइकल लिएर निस्किएका थिए। त्यसको करिब डेढ घण्टापछि साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई फोन गरेर ‘जंगलमा बाटो बिर्सिएँ’ भनेका थिए।

त्यसपछि आफन्त, स्थानीय र प्रहरीको टोली उनको खोजीमा जुटेको थियो। खोजीका क्रममा जंगलमा उनको मोटरसाइकल लु.प्र.०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो।

स्थानीयका अनुसार सिंह आफ्नो समूहले सञ्चालन गरेको कृषि फार्मतर्फ जाने क्रममा जंगलमा प्रवेश गरेका थिए। छोटो बाटो हुने भन्दै जंगलको बाटो प्रयोग गर्दा उनी हराएका थिए।

शुक्रबारदेखि निरन्तर खोजी गरेपछि आइतबार उनको शव भेटिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Post