काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको अनुसन्धानका क्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनीहरूलाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरी हिरासतमा राखिएको हो। घटनामा तीन जनाको मृत्यु र करिब ४० जना घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकाहरूको घटनामा रहेको भूमिका र संलग्नताको प्रकृतिबारे अनुसन्धान भइरहेको छ। उनीहरूको वास्तविक भूमिका अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूको पहिचान भने सार्वजनिक गरेको छैन। घटनासँग सम्बन्धित प्रमाण र तथ्य संकलन गर्नुका साथै प्रत्यक्षदर्शीसँग सोधपुछ र पक्राउ परेकाहरूसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ।
घटनामा थप व्यक्तिको संलग्नता पुष्टि भए उनीहरूलाई समेत पक्राउ गरी कानुनी प्रक्रियामा अघि बढाइने प्रहरीको भनाइ छ। कप्तानगञ्जमा केही समयअघि उत्पन्न विवादले उग्र रूप लिएपछि हिंसात्मक घटना भएको थियो। घटनापछि स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो।
प्रहरीले घटनाको पृष्ठभूमि, विवाद हिंसामा परिणत हुनुको कारण र संलग्न व्यक्तिहरूको भूमिकाबारे विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ।