काठमाडौं । २४ भदौको जेनजी आन्दोलनको मौका छोपेर कारागार तोडेर भागेका कैदीबन्दीका कारण अहिले समाज त्रस्त छ ।
कैदीबन्दी समाजमा खुलेआम हिँड्दा सुरक्षा चुनौती बढे संगै समाजनै त्रसित बनेको छ । बुधबार १२ बजेसम्मको तथ्यांकअनुसार अझै ६ हजार ८१३ कैदीबन्दी खुला समाजमा छन् । उनीहरू कारागारको चौघेरामा आउन बाँकी नै छ ।
नेपालमा जघन्य अपराध गरेर कारागार पुगेका कैदीबन्दी विदेश भाग्न सक्ने भन्दै अहिले कारागार व्यवस्थापन विभागले यसबारे गृहकार्य सुरु गरेको छ । कारागार कार्यालयहरू तोडफोड तथा जलेर नष्ट भएकाले कैदीहरूको विवरणसमेत जलेकाले केही समस्या भएको बताइएको छ ।
कारागारबाट बाहिर रहेका कैदीबन्दी विदेश भाग्न सक्ने भन्दै उनीहरूको विवरण अध्यावधिक गर्ने काम भइरहेको छ । विवरण अध्यावधिक गरेका कैदीबन्दीका नागरिकता, पासपोर्ट लगायतको विवरण अध्यागमनमा बुझाइने कारागार व्यवस्थापन विभागले जनाएको छ ।
अध्यागमन विभागले पनि यसबारे काम भइरहेको बताएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले कारागार व्यवस्थापन विभागले पठाएका विवरणअनुसार अध्यागनले रेकर्ड राखेर निगरानी सुरु गरेको बताए । सबै विवरण आएपछि सिस्टममा कालोसूचीमा राखेर निगरानी बढाइने अध्यागमनले बताएको छ । ठूलो संख्यामा कैदीबन्दी कारागार बाहिर रहेपछि केही देशले नेपालीको भिसामा कडाइ गरेका छन् ।
भारतीय अध्यागमन कार्यालयहरूमा पनि त्यस्तो केरकार बढेको यात्रुहरूले बताएका छन् । खासगरी खुला सीमाका कारण कैदी भारत छिर्न सक्ने भन्दै भारतले सबै सीमा क्षेत्रमा चेकजाँच र सोधपुछमा कडाइ गरेको बताइएको छ ।कारागारबाट भागेका ६ हजार १९१ कैदीबन्दी र सुधारगृहबाट भागेका ६२२ गरी ६ हजार ८१३ कैदीबन्दी अझै फरार छन् । बुधबार दिउँसो १२ बजेसम्मको तथ्यांकअनुसार कारागारबाट भागेकामध्ये ७ हजार ७३५ कैदीबन्दी फिर्ता आएका छन् ।
जेनजी आन्दोलनको क्रममा झुम्का, सोलुखम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जग्गनाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कन्चनपुर गरी २८ वटा कारागारबाट १३ हजार ५८५ कैदीबन्दी भागेका थिए ।
त्यसैगरी मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी गरी ९ वटा बाल सुधार गृहबाट ९४६ कैदीबन्दी गरी जम्मा १४ हजार ५४९ कैदीबन्दी फरार भएका थिए ।
तीमध्ये कारागारतर्फ ७ हजार ३९४ र सुधारगृहतर्फ ३४१ गरी ७ हजार ७३५ कैदीबन्दी कारागार फिर्ता भइसकेका छन् । यीमध्ये केही आफैं कारागार फिर्ता आएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको थियो ।
अहिले कारागारतर्फ ६ हजार १९१ र सुधारगृहतर्फ ६२२ गरी ६ हजार ८१३ कैदीबन्दी फिर्ता आउन बाँकी छन् ।