पाँचथरको मिक्लाजुङ गाउँपालिकामा बुवाको हत्या गरेको आरोपमा आमा र छोरा पक्राउ परेका छन्। प्रहरीले मिक्लाजुङ–३ का इन्द्रकुमार दमाईको हत्या आरोपमा ४३ वर्षीया महिला र उनका १७ वर्षीय छोरालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिष कर्णका अनुसार प्रारम्भिक अनुसन्धानमा आमा–छोरा मिलेर दमाईको हत्या गरेको खुलेको छ। पक्राउ परेका दुवै जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरूलाई अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ।
प्रहरीका अनुसार गत भदौ २० गते दमाई छिमेकी इन्द्र राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका थिए। उनको घाँटीमा सलको पासो लगाइएको थियो भने निधारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेको जस्तो चोट देखिएको थियो। घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट आत्महत्या नभई हत्या भएको आशंका भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा आमा–छोराले दमाईलाई आफ्नै घरमा बन्चरो र दाउले प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। उनीहरूको बयानअनुसार हत्या गरेपछि शवलाई सुरुमा घरनजिकैको आल्चाको रुखमा झुन्ड्याइएको थियो। त्यसपछि शवलाई करिब पाँच सय मिटर तल भीरपाखामा लगेर फालिएको थियो।
प्रहरीले घटनामा प्रयोग भएको बन्चरोसहित केही अन्य हतियारसमेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।