फुकुओकामा नेपाली युवती हत्या प्रकरणमा तीन नेपाली पक्राउ

फुकुओकामा नेपाली युवती हत्या प्रकरणमा तीन नेपाली पक्राउ
21

जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन्।

जापान प्रहरीले हत्या अभियोगमा २८ वर्षीय सन्जु तामाङ, २५ वर्षीय अमिस्ता तामाङ र २२ वर्षीय प्रबिन लामालाई पक्राउ गरेको जनाएको छ। सन्जु फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत रहेको तथा अमिस्ता र प्रबिन सागा प्रिफेक्चरको तोसु सहरमा बस्दै आएको प्रहरीले बताएको छ।

झापाको चन्द्रगढीकी २५ वर्षीया राजवंशी गत १९ अगस्टमा फुकुओकाको एक खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले उनको टाउकोमा प्रहार गरी घाँटीमा डोरीले कसेपछि बरन्डाबाट नदीमा खसालिएको हुनसक्ने आशंका गरेको छ।

पक्राउ परेका तीनै जनाले आरोप स्वीकार गरेका छन् वा अस्वीकार, त्यसबारे प्रहरीले केही सार्वजनिक गरेको छैन।

अनुसन्धानका क्रममा राजवंशीसँग प्रेम सम्बन्धमा रहेका प्रबिन र पक्राउ परेकी सन्जु एउटै घरमा बस्दै आएको खुलेको छ। प्रहरीले प्रेम सम्बन्धसँग जोडिएको विवाद घटनाको पृष्ठभूमि हुनसक्ने आशंकामा हत्या हुनुअघिको घटनाक्रमबारे थप अनुसन्धान गरिरहेको छ।

Related Post