मोरङमा गाँजा कारोबारी पक्राउ गर्न प्रहरीको गोली प्रहार, एक भारतीय नागरिक घाइते
मोरङ । गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मोरङमा एक भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले घटनास्थलबाट करिब १०० किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बिहीबार राति रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोलाको बगरमा प्रहरीले गोली चलाएको हो।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार असोज २९ गते दिउँसो सोही स्थानबाट बेवारिसे अवस्थामा २६४.५९ किलो गाँजा बरामद भएको थियो। उक्त स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचनापछि इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी टोली खटिएको थियो।
राति करिब ९ः२५ बजे गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरूसँग प्रहरीको जम्काभेट भएको थियो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न खोजेपछि सुरुमा एक राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि नरोकेपछि प्रहरीले अर्को राउन्ड गोली चलाउँदा भारतको अररिया जिल्लास्थित जोगबनीका ३९ वर्षीय प्रमोद चौधरीको देब्रे खुट्टाको पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ।
घाइते चौधरीसँगै भारतको अररिया जिल्लास्थित महगामा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव पनि पक्राउ परेका छन्। घाइते चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिएका छन्।