आरोप पुष्टि भए सांसद पदबाटै हटाउन खगेन्द्र सुनारको माग, महिलामाथिको प्रचारप्रति आपत्ति

15 October, 2026 55 Views
आरोप पुष्टि भए सांसद पदबाटै हटाउन खगेन्द्र सुनारको माग, महिलामाथिको प्रचारप्रति आपत्ति
55

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत उनले आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले अनुसन्धानमा सहयोग गर्न तयार रहेको र आफूले गलत काम गरेको प्रमाणित भए कानुनअनुसारको सजाय भोग्न तयार रहेको बताएका छन्।

उनले आफूमाथि निर्मम छानबिन गर्न आग्रह गर्दै आफ्नो गल्तीका लागि पार्टी र सरकारले जिम्मेवारी लिनुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन्।

यस प्रकरणमा जोडिएकी महिलामाथि भइरहेको मिडिया ट्रायल र अतिरञ्जित प्रचारप्रति पनि सुनारले आपत्ति जनाएका छन्। महिलाको तस्बिर, अडियो र भिडियो जोडेर विभिन्न टिप्पणी गर्नु गलत भएको उनको भनाइ छ।

उनले आफूविरुद्ध कुनै कसुर पुष्टि भए प्रहरी वा अदालतमार्फत कानुनी कारबाही हुनुपर्ने तर सम्बन्धित महिलामाथि अनावश्यक रूपमा आक्रमण गर्न नहुने बताएका छन्।

‘जे कारबाही हो, ममाथि होस्– मलाई स्वीकार छ। उहाँमाथिको आक्रमण मान्य छैन। त्यो गलत छ,’ सुनारले सामाजिक सञ्जालमा लेखेका छन्।

सम्बन्धित महिलाले आफू अन्यायमा परेको अवस्थामा आफैँ कानुनी उपचार खोज्न सक्षम रहेको बताउँदाबताउँदै पनि उनलाई अनावश्यक रूपमा लखेटिएको सुनारको दाबी छ।

Related Post