289
कात्तिक, काठमाडौं । भदौ २४ को हिंसात्मक प्रदर्शनपछिका घटनामा काठमाडौंको चुच्चेपाटी, सुनसरीको इटहरी र मोरङको भाटभटेनी सुपरमार्केटमा भेटिएका १२ शवको डेढ महिनासम्म पहिचान खुल्न सकेको छैन। शवहरू पूर्ण रूपमा जलेका र आफन्तले दाबी नगरेका कारण, प्रहरीले ती शवहरू डीएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको छ।
चुच्चेपाटीमा भेटिएका ७ शव त्रिवि शिक्षण अस्पतालमा राखिएका छन्। इटहरीमा ४ र मोरङमा १ शव भेटिएको थियो। प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, शवहरू लगभग पूर्ण रूपमा जलेका र अस्थिपञ्जर मात्र फेला परेको छ, मृत्युको कारण अझै स्पष्ट छैन।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पनि इटहरीका शवको पहिचान अझै हुन नसकेको बताए। देशभर व्यक्तिगत घर र निजी भवनमा जलेर मृत्यु भएका अन्य २० भन्दा बढी घटनामा भने पहिचान भइसकेको छ।