कात्तिक, विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको श्री एयरको जहाज खराब मौसमका कारण पुनस् विराटनगर फर्किएको छ । बिहानैदेखि पानी परेको साथै भिजिबिलिटीसमेत कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा वाह्यक उडान प्रभावित भएको छ ।
सोहीक्रममा विराटनगरबाट काठमाडौंका लागि उडेको श्री एयरको फ्लाइट नम्बर ७३२ को जहाज काठमाडौं अवतरण गर्न नसकेर १ घण्टा ३८ मिनेटपछि पुनस् विराटनगर एयरपोर्ट फर्किएको जहाजमा रहेका यात्रु कांग्रेस नेता गुरुराज घिमिरेले बताएका छन् । श्री एयरको विराटनगर(काठमाडौं उडान समय सामान्यतया २५ देखि ३० मिनेट हो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको बताएका छन् । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ । भैरहवाबाट काठमाडौं उडेको जहाज पनि उतै फर्किएको छ ।
अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ । इण्डिगो एयरको विमान नयाँदिल्ली र एयर इण्डिया लखनऊ डाइभर्ट भएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको प्रवक्ता शेर्पाले बताए । इनरुट वेदर खराबीले आन्तरिक उडानमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ ।