काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई छानबिनको निष्कर्ष नआएसम्म सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । एक महिलालाई धम्की दिएको र ब्ल्याकमेल गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले सुनारमाथि आन्तरिक छानबिन अघि बढाउँदै यस्तो निर्देशन दिएको हो ।
रास्वपाका महामन्त्री विपिन आचार्यले जारी गरेको विज्ञप्तिअनुसार पार्टीको केन्द्रीय अनुशासन आयोगलाई घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन प्रक्रिया अघि बढाउन भनिएको छ ।
छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।
‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
पार्टीले सुनारमाथि सार्वजनिक भएका आरोपलाई गम्भीर रूपमा लिएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्ने जनाएको छ । साथै, अनुसन्धानका क्रममा आवश्यक परे राज्यका सम्बन्धित निकायलाई सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्की दिएको भनिएको अडियोसहितको समाचार सार्वजनिक भएपछि सुनारमाथि प्रश्न उठेका हुन् । यद्यपि, उनीमाथि लागेका आरोपबारे छानबिनबाट आउने निष्कर्ष भने सार्वजनिक हुन बाँकी छ ।