खारेज भएन ‘ग्रीन आर्मी’, नाम परिवर्तनको प्रक्रिया अघि बढ्यो

खारेज भएन ‘ग्रीन आर्मी’, नाम परिवर्तनको प्रक्रिया अघि बढ्यो
58

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै पोसाक लगाएर रसुवा र नुवाकोटमा उद्धार तथा राहतमा सक्रिय भएको ‘ग्रीन आर्मी’ विवादमा परेपछि गृह मन्त्रालयले संस्थाको नाम सच्याउन कम्पनी रजिष्ट्रार कार्यालयलाई पत्र पठाएको छ। यद्यपि, संस्था नै खारेज गरिएको भने होइन।

कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठका अनुसार संस्था खारेज गर्न सम्बन्धित संस्थाले नै खारेजीको माग गर्दै निवेदन दिनुपर्ने कानुनी व्यवस्था छ। ‘ग्रीन आर्मी’ संस्था हालसम्म नियमित रूपमा अद्यावधिक रहेको देखिएकाले तत्काल खारेजी नभई नाम परिवर्तनको प्रक्रिया अघि बढाइएको उनले बताइन्।

कम्पनी दर्ता ऐन तथा सम्बन्धित निर्देशिकाअनुसार नाम परिवर्तनको प्रक्रिया सुरु भएको ३५ दिनभित्र आवश्यक काम पूरा गर्नुपर्ने व्यवस्था रहेको श्रेष्ठले जानकारी दिइन्। गृह मन्त्रालयले संस्थाको दर्ताका लागि दिएको स्वीकृति भने रद्द गर्न सक्ने व्यवस्था रहेको उनको भनाइ छ।

यसैबीच, ग्रीन आर्मीका संस्थापक प्रमुख सविन शर्माले संस्था खारेज भएको भन्ने समाचार भ्रामक रहेको बताएका छन्। विज्ञप्तिमार्फत उनले संस्थाको स्थापना र सञ्चालनबारे विभिन्न समयमा सार्वजनिक भएका भ्रमपूर्ण सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

शर्माका अनुसार ग्रीन आर्मीले आफ्नो उद्देश्यअनुसार वातावरण संरक्षण, विपद् व्यवस्थापन, उद्धार तथा राहत सहयोगलगायतका गतिविधि प्रचलित कानुन र प्रक्रियाअनुसार निरन्तर सञ्चालन गर्दै आएको छ।

Related Post