काठमाडौं । नेपाली पुँजी बजारमा लगानीकर्ताको सहभागिता निरन्तर बढ्दै गएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अर्थ समितिमा प्रस्तुत गरेको विवरणअनुसार डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ८० लाख ९५ हजार पुगेको छ ।
बोर्डका अनुसार ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या ५१ लाख २२ हजारभन्दा बढी पुगेको छ भने गत आर्थिक वर्षको अन्त्यसम्म ३५ लाख ६२ हजारभन्दा बढी लगानीकर्ताले कारोबार खाता खोलेका छन् ।
हाल नेप्से सूचक २६०३.७१ बिन्दुमा रहेको छ । कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको अध्यक्ष भट्टले जानकारी दिए ।
पुँजी बजारबाट सरकारलाई प्राप्त हुने राजस्वसमेत उल्लेख्य रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा धितोपत्र बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब ५४ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ ।
यसैबीच सेबोनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचना, साइबर सुरक्षा, सूचना प्रविधि र सुशासन सुधारलाई अघि बढाउने भएको छ । अर्थ मन्त्रालयको निर्देशनअनुसार नेप्से सुधारसम्बन्धी पूर्ववर्ती समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको अध्यक्ष भट्टले बताएका छन् ।
त्यस्तै सीडीएससीलाई भविष्यमा ‘सेन्ट्रल काउन्टर पार्टी’का रूपमा विकास गर्ने तयारी भइरहेको छ । यसबाट सेयर कारोबारमा थप सुरक्षा र ग्यारेन्टीको व्यवस्था हुने बोर्डको भनाइ छ ।
नेपाली पुँजी बजारमा इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ्सजस्ता नयाँ कारोबार प्रणाली भित्र्याउने तयारीसमेत भइरहेको बोर्डले जनाएको छ ।