काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा भइरहेको अधिवेशनमा मनोनयन दर्ताका क्रममा बुधबार झडप भएको छ ।
सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा प्रतिनिधिको नामावलीलाई लिएर विवाद बढेपछि झडप भएको हो । झडपमा केही व्यक्ति घाइते भएका छन् । घाइतेको संख्या भने यकिन भइसकेको छैन ।
प्रतिनिधिको नामावलीमा एक महिलाको नाम समावेश नभएको विषयमा विवाद सुरु भएको बताइएको छ । माइन्युट लेख्ने क्रममा ती महिलाले आफ्नो नाम छुटेको विषय उठाएपछि विवाद चर्किएको र केही व्यक्तिले तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाका क्रममा महाधिवेशन प्रतिनिधिका उम्मेदवार डिला संग्रौला कोठाबाट बाहिर निस्किएकी थिइन् । झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि कुटपिट भएको बताइएको छ ।
झडपका क्रममा अधिवेशनस्थलमा रहेका करिब ५० देखि ६० वटा कुर्सीसमेत तोडफोड भएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
मोरङ प्रहरीका डीएसपी मिश्रका अनुसार अहिले अधिवेशनस्थलको अवस्था सामान्य रहेको छ ।
झडपका कारण निर्धारित मनोनयन दर्ता प्रक्रिया प्रभावित भएको छ । निर्वाचन प्रक्रिया रोकिएपछि अब मनोनयन दर्ता कहिले र कसरी अघि बढाउने भन्ने विषयमा अन्योल देखिएको छ ।