अर्थ समितिको निर्देशन : नयाँ धितोपत्र विधेयक तत्काल संसदमा ल्याउन सरकारलाई दबाब

अर्थ समितिको निर्देशन : नयाँ धितोपत्र विधेयक तत्काल संसदमा ल्याउन सरकारलाई दबाब
93

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले धितोपत्र बजार सुधारका लागि नयाँ विधेयक तत्काल संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार बसेको समिति बैठकले पूँजी बजारलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै लगानीकर्ताको हित सुरक्षित गर्न नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले प्राथमिक सेयर निष्कासनअघि कम्पनीको पूँजी, नेटवर्थ, प्रविधि, वासलात र प्रतिफलजस्ता पक्षको मूल्यांकन गर्न पनि धितोपत्र बोर्डलाई भनेको छ।

यस्तै, नेप्सेको अनलाइन ट्रेडिङ र डेटा प्रणालीमा देखिने प्राविधिक समस्या तत्काल समाधान गर्दै साइबर सुरक्षा मजबुत बनाउन अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई निर्देशन दिइएको छ।

दोस्रो बजारमा हुने मिलेमतो, कृत्रिम माग वा अभाव सिर्जना गरी मूल्य बढाउने गतिविधिमाथि कडा निगरानी राखेर दोषीमाथि तत्काल कारबाही गर्न पनि समितिले भनेको छ।

त्यसैगरी, लामो समयदेखि रिक्त रहेका नेप्से र सिडिएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पदमा पदपूर्ति प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ।

Related Post