काठमाडौं । दशैँमा घर जाने यात्रु अब भाडाका नाममा अलमलिनुपर्ने छैन ! बस चढ्नुअघि मोबाइलमै आफ्नो रुटको सरकारी भाडा हेर्नुहोस्, तोकिएकोभन्दा बढी मागिए तत्काल थाहा पाउनुहोस्—यातायात व्यवस्था विभागले नयाँ डिजिटल सुविधा ल्याएको छ।
विभागले आफ्नो वेबसाइटमा ‘भाडा दर खोजी’ प्रणाली सञ्चालनमा ल्याएपछि यात्रुले आफू जाने रुटको आधिकारिक भाडा केही क्षणमै हेर्न सक्ने भएका छन्।प्रणाली प्रयोग गर्न विभागको वेबसाइटमा गएर ‘भाडा दर खोजी’ विकल्पमा क्लिक गर्नुपर्छ। त्यसपछि प्रस्थान बिन्दु र गन्तव्य छनोट गरेपछि सम्बन्धित रुटको सरकारले स्वीकृत गरेको भाडा स्क्रिनमै देखिन्छ।जस्तै, काठमाडौं–पोखरा यात्रा गर्न लाग्नुभएको छ भने दुवै स्थान छनोट गरेपछि उक्त रुटको आधिकारिक भाडा थाहा पाउन सकिन्छ।
यसअघि विभागको वेबसाइटमा लामो पीडीएफ फाइलमा मात्र भाडादर उपलब्ध थियो। नयाँ प्रणालीले भने मोबाइलबाटै आवश्यक रुट खोजेर भाडा हेर्न सकिने बनाएको छ।दशैँ, तिहार र छठका बेला यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने गुनासो बढ्ने गरेको अवस्थामा अब यात्रुले आफूले तिर्नुपर्ने भाडा पहिल्यै यकिन गर्न सक्ने भएकाले बढी भाडा असुल्ने र यात्रु ठग्ने प्रवृत्ति घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विभागका अनुसार गत असारमा समायोजन गरिएको भाडादर प्रणालीमा राखिएको हो। सरकारले स्वीकृत गरेका देशभरका प्रमुख रुटहरूको भाडादर उपलब्ध गराइएको छ भने छुटेका र अद्यावधिक हुन बाँकी रुटहरू पनि अपडेट गरिने विभागले जनाएको छ।