२१ अर्बको बीमा दाबी, भुक्तानी सहज बनाउन नयाँ व्यवस्था

30 September, 2026 110 Views
२१ अर्बको बीमा दाबी, भुक्तानी सहज बनाउन नयाँ व्यवस्था
110

काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा करिब २१ अर्ब रुपैयाँको दाबी परेपछि नेपाल बीमा प्राधिकरणले भुक्तानी प्रक्रिया सहज बनाउने नयाँ व्यवस्था लागू गरेको छ ।

प्राधिकरणका अनुसार असोज १२ गतेसम्म २ हजार १८० बीमितले २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ बराबरको दाबी गरेका छन् । बाढीबाट जलविद्युत् आयोजना, सवारीसाधन, घर तथा व्यापारिक सम्पत्तिमा ठूलो क्षति पुगेपछि बीमा दाबी बढेको हो ।

नयाँ कार्यविधिअनुसार पाँच लाख रुपैयाँसम्मका सरल र पर्याप्त प्रमाण भएका दाबीमा बाह्य सर्भेयर नियुक्त गर्नुपर्ने छैन । बीमा कम्पनीले आफ्नै कर्मचारीमार्फत क्षति मूल्यांकन गरी दाबी फछ्र्योट गर्न सक्नेछन् । अनुमानित दायित्व निर्धारण भएपछि त्यसको ५० प्रतिशतसम्म रकम अग्रिम भुक्तानी गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

बाढीका कारण कागजात नष्ट भएका बीमितले फोटो, भिडियो, बैंक मूल्यांकन, कर चुक्ता विवरण, सरकारी अभिलेख तथा अन्य डिजिटल प्रमाणका आधारमा दाबी प्रक्रिया अघि बढाउन सक्नेछन् । त्यस्तै, बाढीका कारण समयमै सूचना दिन नसकेको आधारमा मात्रै दाबी अस्वीकार गर्न नपाइने व्यवस्था गरिएको छ ।

यससँगै बीमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रिया पनि स्वचालित बनाउने प्रणाली परीक्षणमा ल्याइएको छ । सर्भेयरको विशेषज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता र पहिले पाएको कामका आधारमा प्रणालीले उपयुक्त सर्भेयर छनोट गर्नेछ ।

Related Post