काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएका बेला एकै महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ६३ अर्ब रुपैयाँले बढेको छ । अब प्रश्न उठेको छ—बैंकबाट बाहिरिएको यो ठूलो रकम आखिर कहाँ गयो ?
नेपाल राष्ट्र बैंकका अनुसार अगस्टको मध्यदेखि सेप्टेम्बरको मध्यसम्म २० वाणिज्य बैंकको कुल कर्जा ५२ खर्ब ८७ अर्बबाट बढेर ५३ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो । अर्थात् एक महिनामै ६३ अर्ब रुपैयाँले कर्जा विस्तार भएको छ ।
यस अवधिमा २० मध्ये १५ बैंकले कर्जा बढाएका छन् । ग्लोबल आइएमई बैंकको कर्जा १६ अर्ब १९ करोड र लक्ष्मी सनराइज बैंकको १० अर्ब ३१ करोड रुपैयाँले बढेको तथ्यांक छ । यही अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि करिब ७५ अर्ब रुपैयाँले बढेर ७५ खर्ब ७६ अर्ब पुगेको छ ।
बैंकिङ प्रणालीमा पर्याप्त स्रोत र तुलनात्मक रूपमा कम ब्याजदर रहेकै बेला कर्जा विस्तार बढेको हो । राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका बैंकको भारित औसत कर्जा ब्याजदर ६.४८ प्रतिशतमा छ ।
तर कर्जा बढ्नु मात्रै अर्थतन्त्र चलायमान भएको प्रमाण होइन । एकै महिनामा थपिएको ६३ अर्ब रुपैयाँ उद्योग–व्यवसाय विस्तारमा गयो कि घरजग्गा, व्यापार वा अन्य क्षेत्रमा ? यसको वास्तविक प्रभाव आगामी तथ्यांकले देखाउनेछ ।
अहिलेको मुख्य प्रश्न भने यही हो—बैंकबाट ६३ अर्ब रुपैयाँ बाहिरियो, तर त्यसले उत्पादन, लगानी र रोजगारीमा कति थप्यो ?