काठमाडौँ । नेपालबाट यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार देशका सबै भूभागबाट मनसुन बाहिरिएको घोषणा गरेको हो। मनसुन बाहिरिए पनि पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आगामी केही दिन हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा देशका कुनै पनि स्थानमा वर्षा भएको छैन। अधिकांश भूभागको मौसम सफा रहे पनि सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पश्चिमबाट बादल प्रवेश गरेको विभागले जनाएको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार र शुक्रबार वर्षा तथा हिमपातको गतिविधि केही बढ्न सक्ने पूर्वानुमान गरिएको छ। बिहीबार दिउँसो पश्चिमी क्षेत्रका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।
त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र पश्चिमी क्षेत्रका पहाडी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। तराईका अधिकांश भूभागमा वर्षा हुने सम्भावना नरहे पनि पश्चिमी तराईमा सामान्य बादल लाग्न सक्नेछ।
बिहीबार राति पनि अधिकांश हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ। शुक्रबार बिहान मध्यदेखि पश्चिमी तराईका केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ। शुक्रबार पश्चिमी न्यूनचापीय प्रणाली पूर्वतर्फ सर्ने भएकाले देशका अधिकांश हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ। शुक्रबार राति र शनिबार बिहान तराईका अन्य भूभागमा समेत हुस्सु लाग्न सक्ने विभागले जनाएको छ।
सम्भावित मौसमीय जोखिमलाई ध्यानमा राख्दै विभागले बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा तथा शुक्रबार गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा पहेँलो रङको चेतावनी जारी गरेको छ।
मौसमविद् अधिकारीले मौसममा परिवर्तन भइरहन सक्ने भएकाले सतर्क रहन र विभागबाट जारी हुने अद्यावधिक मौसमी सूचना नियमित रूपमा हेर्न आग्रह गरेका छन्। आगामी केही दिनमा पश्चिमी वायुको प्रभाव कमजोर हुँदै मौसममा क्रमशः सुधार आउने सम्भावना रहे पनि यसको आंशिक प्रभाव कायमै रहन सक्ने उनले बताएका छन्।