मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

28 July, 2026 57 Views
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
57

काठमाडौं, साउन १२ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा लुम्बिनी र मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा बागमती, गण्डकी, कोशी र मधेश प्रदेशका केही स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका हिमाली तथा पहाडी भूभागका केही स्थान र कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

 
 
 

Related Post