२८६६ मत ल्याएकी विनिता खड्कालाई कांग्रेसले किन गरेन निर्वाचित घोषणा?

14 October, 2026 221 Views
२८६६ मत ल्याएकी विनिता खड्कालाई कांग्रेसले किन गरेन निर्वाचित घोषणा?
221

 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा पर्याप्त मत प्राप्त गरेकी विनिता खड्काको निर्वाचन परिणाम हाललाई रोकिएको छ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले खड्कालाई निर्वाचित घोषणा गर्ने प्रक्रिया स्थगित गरिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। पार्टीका पदाधिकारीले कानुनी प्रक्रिया टुंगो नलागेसम्म नतिजा होल्डमा राख्न आग्रह गरेपछि समितिले यस्तो निर्णय गरेको हो।

महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहे पनि खड्काको नतिजा रोकिएपछि हाललाई १४ जनालाई मात्र निर्वाचित घोषणा गरिएको छ। प्राप्त मतपरिणामअनुसार खड्काले २ हजार ८६६ मत प्राप्त गरेकी थिइन्। उक्त मत निर्वाचित हुन पर्याप्त रहेको बताइएको छ। यस पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

खड्कालाई गत सोमबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले असोज २३ गते इजरायलमा केयरगिभरका रूपमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो।

प्रहरीले खड्कामाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। यसअघि यही प्रकरणमा कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका नेता भरत चौलागाईंसहित चार जना पक्राउ परेका थिए।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिनजान रहेको भन्दै १५६ जनालाई इजरायल पठाइदिने आश्वासन दिएर दुई करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा उनीहरूविरुद्ध जाहेरी परेको थियो।

नेपाल र इजरायल सरकारबीचको जीटुजी प्रक्रियाअन्तर्गत सन् २०२४ मा केयरगिभरका लागि भएको परीक्षामा ३ हजार ४६१ जना उत्तीर्ण भएका थिए। उनीहरूलाई मन्त्रिपरिषद्बाट निर्णय गराएर इजरायल पठाइदिने आश्वासन दिँदै रकम उठाएको आरोप छ।

Related Post