बाढीपीडितका लागि वाइसीएलले बनायो २१ अस्थायी आवास, प्रचण्डले गरे हस्तान्तरण

13 October, 2026 156 Views
बाढीपीडितका लागि वाइसीएलले बनायो २१ अस्थायी आवास, प्रचण्डले गरे हस्तान्तरण
156

वाइसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्।

मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा आयोजित कार्यक्रममा प्रचण्डले प्रभावित परिवारलाई आवासको चाबी हस्तान्तरण गरेका हुन्। वाइसीएल नेपालको पहलमा निर्माण गरिएका आवासमा दुई कोठा र शौचालयको व्यवस्था छ।

आवास हस्तान्तरण कार्यक्रममा प्रचण्डले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिलाई प्राकृतिक विपत्तिको परिणामका रूपमा मात्र हेर्न नहुने बताए। विकसित मुलुकहरूले अपनाएको विकासको गलत मोडलका कारण नेपालजस्ता देशले जलवायु परिवर्तनको असर भोग्नुपरेको उनको भनाइ थियो।

कार्बन उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै उनले आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभा र महासचिवसँगको भेटमा जलवायु न्यायको विषय उठाएको स्मरण गरे।

 

प्रचण्डले यसअघि रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दा प्रभावित परिवारका लागि आवास निर्माण गर्ने घोषणा गरिएको बताउँदै निर्माण कार्यमा खटिएका वाइसीएलका नेता तथा कार्यकर्तालाई धन्यवाद दिए।

आवास प्राप्त गरेपछि प्रभावित परिवारले सुरक्षित बसोबासको व्यवस्था भएकामा खुसी व्यक्त गरेका छन्। बेलकोटगढी नगरपालिका–७ का ६३ वर्षीय श्रीकृष्ण नेपालले बाढीले आफ्नो घर आधा पुरेको बताउँदै वाइसीएलले निर्माण गरिदिएको आवासलाई आफ्नो लागि ठूलो सहारा भएको बताए।

त्यस्तै, स्थानीय प्रदीप राईले यस वर्षको दसैँ नयाँ घरमा मनाउन पाउने भएपछि खुसी लागेको बताए। आवास निर्माणले आफूहरूलाई नयाँ जीवन सुरु गर्ने हौसला मिलेको उनको भनाइ छ। स्थानीय शम्भु सिग्देलले पनि वाइसीएलले गाउँका प्रभावित परिवारलाई उल्लेखनीय सहयोग गरेको बताए।

वाइसीएल नेपालका अध्यक्ष पुष्प वलीका अनुसार बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण अभियान सञ्चालन गरिएको हो। संगठनका प्रचार विभाग प्रमुख धिरज उपरकोटीले एउटा आवास निर्माणमा करिब चार लाख रुपैयाँ खर्च भएको जानकारी दिए। दाताबाट प्राप्त निर्माण सामग्री र प्राविधिक सहयोगमा आवास निर्माण गरिएको वाइसीएलका उपाध्यक्ष हरि ढकालले बताए।

आवास निर्माण, उद्धार, राहत वितरण, सरसफाइ तथा पुनर्निर्माणका काममा वाइसीएलका ६ सयभन्दा बढी नेता तथा कार्यकर्ता परिचालित भएका थिए। संगठनले आवास निर्माणसँगै प्रभावित क्षेत्रमा खाद्यान्न, त्रिपाल, औषधि, लत्ताकपडा, सोलार लाइट तथा मोबाइललगायत आवश्यक सामग्री वितरण गरेको जनाएको छ।

वाइसीएलका अध्यक्ष पुष्प वलीद्वारा जारी विज्ञप्तिअनुसार प्रभावित नागरिकको उपचारमा सहयोग पुर्‍याउन ११ जनाको सहभागितामा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। काठमाडौंमा रहेका प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडा, भाँडाकुँडा तथा उपचारमा सहयोग गरिएको र करिब १०० परिवारलाई खाना पकाउने ग्यास तथा खाद्यान्न उपलब्ध गराउने प्रयास गरिएको संगठनले जनाएको छ।

विज्ञप्तिमा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका कामका लागि देशभर १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको उल्लेख छ। प्रभावित परिवारलाई राहत उपलब्ध गराउने, सुरक्षित आवास निर्माण गर्ने र उनीहरूलाई सामान्य जनजीवनमा फर्काउन सहयोग गर्ने अभियानलाई निरन्तरता दिने वाइसीएलले जनाएको छ।

वाइसीएलले २१ वटा आवास हस्तान्तरण गरेको बताए पनि उपलब्ध विवरणमा २० परिवारको नाम मात्र उल्लेख छ।

Related Post