काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार ४.१२ अंकले बढेर २ हजार ५९९ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन पनि ४ अंकले बढेको बजारले मंगलबारको कारोबारमा समेत वृद्धिलाई निरन्तरता दिएको हो । नेप्सेमा सामान्य वृद्धि देखिए पनि कारोबार रकम भने बढेको छ । सोमबार ४ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ ।
मंगलबार कारोबारमा आएका कम्पनीमध्ये १०४ वटाको सेयर मूल्य बढेको छ भने १६७ वटाको घटेको छ । त्यस्तै, ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।
समूहगत परिसूचकतर्फ जीवन बीमा समूहमा सबैभन्दा धेरै आकर्षण देखिएको छ । उक्त समूहको सूचक १.७७ प्रतिशतले बढेको छ । बैंकिङ समूह पनि ०.६९ प्रतिशतले बढ्दै पछिल्लो ६ महिनाकै उच्च विन्दुमा पुगेको छ ।
यसैगरी, विकास बैंक समूह ०.०५ प्रतिशत, लगानी समूह ०.१३ प्रतिशत र निर्जीवन बीमा समूह ०.५३ प्रतिशतले बढेका छन् ।
अर्कोतर्फ, फाइनान्स समूह ०.३१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५८ प्रतिशत, जलविद्युत् समूह ०.४४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.४० प्रतिशतले घटेका छन् । त्यस्तै, माइक्रोफाइनान्स समूह ०.०९ प्रतिशत, अन्य समूह ०.५२ प्रतिशत र व्यापार समूह ०.४० प्रतिशतले ओरालो लागेका छन् ।
मंगलबार सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १२.४४ प्रतिशतले बढेको छ । ओरियन्टल होटल्सको ३.७४ प्रतिशत, सन नेपाल लाइफ इन्स्योरेन्सको ३.१७ प्रतिशत, भगवती हाइड्रोपावरको ३.१३ प्रतिशत र घलेम्दी हाइड्रोपावरको ३.१२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यसको विपरीत, स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले घटेको छ । धौलागिरि लघुवित्तको १२.८७ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको ४.६५ प्रतिशत र सिटी होटलको ३.६५ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, कुमारी बैंक, रिलायन्स स्पिनिङ मिल्स, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र सिटी होटल अगाडि रहेका छन् ।
समग्रमा मंगलबार नेप्सेमा सामान्य सुधार देखिए पनि घट्ने कम्पनीको संख्या बढ्ने कम्पनीभन्दा बढी रहेको छ । जीवन बीमा र बैंकिङ समूहको वृद्धिले बजारलाई सकारात्मक दिशामा राख्न सहयोग गरेको छ ।