मंसिर ७ मा भारत जाँदै प्रधानमन्त्री बालेन, ऊर्जा र रेलमार्ग मुख्य एजेन्डा

13 October, 2026 181 Views
मंसिर ७ मा भारत जाँदै प्रधानमन्त्री बालेन, ऊर्जा र रेलमार्ग मुख्य एजेन्डा
181

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आगामी नोभेम्बर २३ अर्थात् मंसिर ७ गते भारतको औपचारिक भ्रमणमा जाने तयारी भएको छ। उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह नोभेम्बर २३ मा नयाँदिल्ली पुग्ने गरी भ्रमणको तयारी भइरहेको छ। यद्यपि, भ्रमणको मिति नेपाल र भारत दुवै सरकारले औपचारिक रूपमा सार्वजनिक गरेका छैनन्।

यसअघि भारतीय सञ्चारमाध्यम आजतकले प्रधानमन्त्री शाहको नोभेम्बर २३ देखि २५ सम्म भारत भ्रमण प्रस्ताव गरिएको समाचार प्रकाशित गरेको थियो। उक्त भ्रमणमा दुई देशबीचको यातायात सम्पर्क, ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार निर्माण तथा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका विषयमा छलफल हुने सम्भावना छ।

प्रस्तावित कार्यसूचीमा रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्ग र जनकपुर–अयोध्या यात्रुवाहक रेल सेवा सञ्चालनसम्बन्धी विषयले प्राथमिकता पाउन सक्ने जनाइएको छ।

ऊर्जा क्षेत्रअन्तर्गत ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ जलविद्युत आयोजना पनि छलफलका प्रमुख विषय बन्न सक्नेछन्। यी दुवै आयोजनाको विकासमा भारतको सरकारी कम्पनी एनएचपिसी संलग्न छ।

त्यसैगरी, दोधारा–चाँदनी एकीकृत जाँच चौकी, महाकाली नदीमा मोटरेबल पुल निर्माण र भैरहवा एकीकृत जाँच चौकीलगायत सीमा पूर्वाधारका विषयमा पनि छलफल हुन सक्ने आजतकले उल्लेख गरेको छ।

भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतले विशेष सहयोग प्याकेज उपलब्ध गराउने विषयसमेत वार्तामा उठ्न सक्ने बताइएको छ। तर, यी परियोजनासम्बन्धी सम्झौता वा सहयोग घोषणाबारे अहिलेसम्म औपचारिक पुष्टि भएको छैन।

भारतले प्रधानमन्त्री शाहलाई गत जुलाईमै औपचारिक भ्रमणको निमन्त्रणा दिएको थियो। त्यसयता दुवै देशका अधिकारीबीच भ्रमणको मिति र कार्यसूचीबारे छलफल हुँदै आएको स्रोतले जनाएको छ।

गत असोज २३ गते परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणका लागि आवश्यक तयारी भइरहेको तर मिति तय भइनसकेको जानकारी दिएको थियो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दुवै देशलाई अनुकूल हुने समयमा भ्रमण हुने बताएका थिए।

यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा आर्थिक सहकार्य, ऊर्जा तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाहले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका भ्रमण गरेका थिए। त्यसैले भारत भ्रमण उनको प्रधानमन्त्रीका रूपमा पहिलो विदेश यात्रा नभए पनि पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ।

प्रधानमन्त्री शाहको भ्रमणको विस्तृत कार्यतालिका, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता र सम्भावित द्विपक्षीय सम्झौताबारे भने औपचारिक विवरण सार्वजनिक हुन बाँकी छ।

Related Post