जुम्ला । नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२/८३ मा ५ हजार ७८९ वटा सिमकार्ड वितरण गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म थप १ हजार २१२ वटा सिमकार्ड वितरण गरिएको कार्यालय प्रमुख पारस पुजाराले जानकारी दिएका छन्।
कार्यालयका अनुसार जुम्लामा १ हजार ७२२ ग्राहकले फाइबर इन्टरनेट सेवा प्रयोग गरिरहेका छन्। हाल सदरमुकाम खलङ्गा बजारमा मात्र उपलब्ध फाइबर सेवा जिल्लाका आठवटै स्थानीय तहमा विस्तार गर्न केन्द्रीय कार्यालयसँग समन्वय भइरहेको छ।
जिल्लामा २० स्थानबाट फोरजी र सात स्थानबाट टुजी सेवा सञ्चालनमा छन्। टेलिकमले जुम्लाका विभिन्न स्थानमा २४ वटा टावर विस्तार गरेको छ। त्यस्तै, कालीकोटमा २२ र मुगुमा १९ वटा टावर निर्माण गरिएको जनाएको छ।
यद्यपि, टावर निर्माण हुन नसक्दा गुठीचौर गाउँपालिका–१ को निपानी तथा तातोपानी गाउँपालिका–८ का केही बस्तीमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन।
ग्रामीण क्षेत्रका नागरिकलाई सञ्चार सेवाको पहुँचमा ल्याउन तथा नेटवर्कलाई थप प्रभावकारी बनाउन सेवा विस्तार र सुदृढीकरणको कामलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।