काठमाडौं । गणतन्त्र कोरियाका लागि प्रस्तावित नेपाली राजदूत प्रा.डा. संगम श्रेष्ठले कोरियाको प्राविधिक क्षमतालाई नेपालको सार्वजनिक सेवा, उत्पादन र जलवायु उत्थानशीलतासँग जोड्ने योजना अघि सारेका छन् । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै श्रेष्ठले नेपाल र कोरियाबीच व्यावहारिक सहकार्य विस्तार गर्न ‘नेपाल–कोरिया नवप्रवर्तन सेतु’ निर्माण गर्ने बताएका हुन् ।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) र भू–स्थानिक तथ्यांकको प्रयोगमार्फत विपद् पूर्वसूचना प्रणाली, पानी व्यवस्थापन र तथ्यांकमा आधारित निर्माणसम्बन्धी नमुना कार्यक्रम विकास गरिनेछ । कोरियाको प्रविधि र अनुभवलाई नेपालको आवश्यकता तथा विकासका प्राथमिकतासँग जोड्ने उनको योजना छ ।
श्रेष्ठले कोरियामा अध्ययन र रोजगारीका लागि जाने नेपालीलाई व्यक्तिगत अवसरमा मात्र सीमित नराखी उनीहरूले हासिल गरेको ज्ञान, सीप र अनुभवलाई नेपालको दीर्घकालीन मानव पुँजी विकासमा उपयोग गर्न पहल गर्ने बताए ।
यसका लागि प्रारम्भिक चरणमा विद्यार्थी र रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकलाई लक्षित अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना उनले प्रस्तुत गरे । कार्यक्रममा प्रमाणित विश्वविद्यालयसम्बन्धी सूचना, भिसा नियम, भाषा तयारी र व्यावसायिक सुरक्षाबारे जानकारी उपलब्ध गराइनेछ ।
प्रस्तावित राजदूत श्रेष्ठले कार्यकाललाई चरणबद्ध रूपमा अघि बढाउने योजना पनि सुनाए । पहिलो वर्षमा एकीकृत मुद्दा व्यवस्थापन तथा कोरियाली भाषामा लगानी र पर्यटनसम्बन्धी सामग्री प्रकाशन गर्ने उनको योजना छ ।
त्यसैगरी, दोस्रो वर्षमा नेपाल–कोरिया व्यवसाय गोलमेच सम्मेलन आयोजना गर्ने र तेस्रो तथा चौथो वर्षमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी परियोजनाहरू अघि बढाउने लक्ष्य उनले प्रस्तुत गरेका छन् ।
श्रेष्ठको प्रस्तावित कार्ययोजनामा प्रविधि हस्तान्तरण, मानव पुँजी विकास, लगानी प्रवर्द्धन र पर्यटन क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखिएको छ ।