बुधबारपछि ग्यासको संयुक्त बिक्री बन्द, डिलरबाटै पाइने

13 October, 2026 106 Views
बुधबारपछि ग्यासको संयुक्त बिक्री बन्द, डिलरबाटै पाइने
106

काठमाडौं । काठमाडौं उपत्यकामा दसैंलाई लक्षित गर्दै सुरु गरिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिन्डर साटफेरको व्यवस्था बुधबारदेखि बन्द हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले बिहीबारदेखि पुरानै व्यवस्थाअनुसार डिलरमार्फत ग्यास बिक्री वितरण सुरु गर्ने जनाएको छ ।

संघले आइतबारदेखि उपत्यकाका उपभोक्तालाई जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सक्ने व्यवस्था गरेको थियो । दसैंका बेला उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो व्यवस्थाअन्तर्गत सुरुमा ६ वटा बिक्री केन्द्र तोकिएका थिए ।

सोमबार थप पाँच केन्द्र विस्तार गर्दै बिक्री केन्द्रको संख्या ११ पुर्‍याइएको थियो । सुरुमा असोज ३१ गतेसम्म लागू हुने भनिएको व्यवस्था पछि असोज ३० गतेसम्मका लागि सीमित गरिएको थियो । संघले मंगलबार पुनः सूचना जारी गर्दै संयुक्त बिक्री तथा सिलिन्डर साटफेर बुधबारसम्म मात्रै सञ्चालन हुने स्पष्ट पारेको हो ।

संघका अध्यक्ष दिवान चन्दका अनुसार बिहीबार र शुक्रबार डिलरमार्फत नियमित रूपमा ग्यास आपूर्ति गर्नुपर्ने भएकाले संयुक्त बिक्रीको व्यवस्था बुधबारसम्म मात्र कायम रहनेछ । त्यसपछि उपभोक्ताले आफ्नो नजिकको ग्यास डिलरबाटै नियमित रूपमा सिलिन्डर साटफेर तथा ग्यास खरिद गर्न सक्नेछन् ।

संघले बजारमा ग्यासको आपूर्ति सहज रहेको र अभाव नरहेको दाबी गरेको छ । नेपाल आयल निगममार्फत भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात नियमित तथा सहज रूपमा भइरहेको संघको भनाइ छ ।

संयुक्त बिक्री सुरु भएपछि उपत्यकाका ११ वटै केन्द्रमा ग्यास लिन आउने उपभोक्ताको लामो लाइन लाग्दै आएको छ । नजिकैको डिलरबाट ग्यास खरिद गर्न पाउने नियमित व्यवस्था पुनः सुरु हुने भएपछि उपभोक्ताको भीड र असुविधा कम हुने संघको अपेक्षा छ ।

संघले उपभोक्ता तथा सरोकारवालालाई बिहीबारदेखि आफ्नो नजिकको डिलरमा गई ग्यास खरिद गर्न आग्रह गरेको छ ।

Related Post