नक्कली प्रहरी बनेर १५ लाख ५० हजार ठगी गरेको आरोपमा महिला पक्राउ

05 July, 2026 17 Views
नक्कली प्रहरी बनेर १५ लाख ५० हजार ठगी गरेको आरोपमा महिला पक्राउ
17

असार २१ — आफूलाई प्रहरीको असई (सहायक निरीक्षक) भन्दै सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) रहेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार बोहोराले आफू प्रहरीको असई भएको परिचय दिँदै असईको बर्दीसमेत लगाउने गरेकी थिइन्। बर्दी लगाएको तस्वीर देखाएर विभिन्न आश्वासन दिँदै उनले पीडितलाई ई–सेवा र मोबाइल बैंकिङमार्फत पटक–पटक गरी १५ लाख ५० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको आरोप छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त रकम ठगी गरेको देखिएको छ।

पक्राउ परेकी बोहोरालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Related Post