पलेँटीमा मदनकृष्णको पुनरागमन, छोरासँगै प्रस्तुति दिने

28 July, 2026 49 Views
पलेँटीमा मदनकृष्णको पुनरागमन, छोरासँगै प्रस्तुति दिने
49

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठ १८ वर्षपछि नेपालयको नियमित सांगीतिक शृंखला पलेँटीको मञ्चमा प्रस्तुत हुने भएका छन्। यसपटक उनी आफ्ना छोरा यमन श्रेष्ठसँगै गीत गाउने तयारीमा छन्।

काठमाडौंस्थित नेपालयको ‘आर’शालामा आयोजना हुने कार्यक्रममा मदनकृष्णले आफ्ना चर्चित पुराना गीतसँगै केही नयाँ गीत पनि प्रस्तुत गर्नेछन्। उनले गाएका ‘अरबौं मान्छेहरूमा’, ‘खोलावारी खोलापारी’, ‘फुलबुट्टे सारी’ र ‘सयथरी बाजा’ लगायतका गीत दर्शकमाझ लोकप्रिय छन्।

हास्यव्यंग्य कलाकारका रूपमा परिचित मदनकृष्णको कलाकारिता यात्रा भने गायनबाट सुरु भएको थियो। उनले प्रारम्भिक समयमा रेडियो नेपाल, भारतको अल इन्डिया रेडियो र दूरदर्शनमा समेत आफ्ना गीत प्रस्तुत गरेका थिए। पछिल्ला वर्षहरूमा स्वास्थ्य समस्याका बाबजुद पनि उनी संगीत र फिल्म क्षेत्रमा सक्रिय छन्।

यसपटकको पलेँटीमा यमन श्रेष्ठको पनि विशेष प्रस्तुति रहनेछ। अभिनयसँगै गायन र संगीतमा सक्रिय यमनले ‘यो मन बदल्न चाहन्न’, ‘जिन्दगीमा सायद मैले’, ‘नौलो बस्ती देखे जहाँ’ र ‘मान्छेले किन मान्छेलाई मार्छ’ लगायतका गीत गाइसकेका छन्। आफ्ना अधिकांश गीतमा उनी आफैंले संगीत भर्ने गर्छन्।

पलेँटीमा पुनः प्रस्तुति दिन लागेका मदनकृष्णले १८ वर्षअघि यही मञ्चमा गीत गाएको अनुभव सम्झँदै यसपटक छोरासँगै प्रस्तुति दिन पाउँदा अझ विशेष महसुस भएको बताएका छन्। यमनले पनि पलेँटीको अभ्यास निकै रमाइलो रहेको भन्दै कार्यक्रम अझ आकर्षक हुने विश्वास व्यक्त गरेका छन्।

पलेँटी कार्यक्रम जुलाई ३१ (शुक्रबार) र अगस्ट १ (शनिबार) नेपालयको ‘आर’शालामा आयोजना हुनेछ। आयोजकका अनुसार कार्यक्रम घरबाटै प्रत्यक्ष प्रसारणमार्फत पनि हेर्न सकिनेछ।

 
 
 

Related Post