काठमाडौँ । पाटन मल्टिपल क्याम्पसमा BSc CSIT कार्यक्रमको शुल्क २ लाख ८० हजार रुपैयाँबाट बढाएर ३ लाख ६० हजार रुपैयाँ पुर्याउने क्याम्पस प्रशासनको निर्णय अन्ततः फिर्ता भएको छ। विभिन्न विद्यार्थी संगठनहरूको संयुक्त आन्दोलनपछि प्रशासन आफ्नो निर्णय सच्याउन बाध्य भएको हो।
अनेरास्ववियुको नेतृत्वमा अखिल (क्रान्तिकारी), अनेरास्ववियू (समाजवादी) तथा विप्लव निकट विद्यार्थी संगठनहरूको संयुक्त पहल, निरन्तर दबाब, संघर्ष र वार्ता पछि बढाइएको शुल्क घटाइ पुरानै पूर्ण शुल्क कायम गर्ने निर्णय सार्वजनिक गरिएको हो।विद्यार्थी संगठनहरूले यसलाई कुनै दया नभई विद्यार्थीको संघर्ष, एकता र बलिदानको परिणाम भएको बताएका छन्। उनीहरूले यो सफलता कुनै एक संगठनको मात्र नभई सम्पूर्ण विद्यार्थी एकताको जित भएको दाबी गरेका छन्।
आन्दोलनमा सहभागी विद्यार्थी संगठनहरूले गरिब, किसान तथा मध्यम वर्गीय परिवारका विद्यार्थीहरूले सुपथ मूल्यमा गुणस्तरीय शिक्षा पाउनुपर्ने स्पष्ट अडान राखेका छन् । उनीहरूका अनुसार यो आन्दोलन केवल शुल्क घटाउने विषयमा सीमित नरही शिक्षा व्यापारीकरणविरुद्धको संघर्ष र विद्यार्थी अधिकारको आन्दोलन हो।विद्यार्थी संगठनहरूले शिक्षा सबैका लागि पहुँचयोग्य र न्यायोचित नहुँदासम्म संघर्ष जारी रहने चेतावनी समेत दिएका छन्।