पृथ्वी राजमार्ग अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बर

07 September, 2026 132 Views
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बर
132

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरलगायतका क्षेत्रमा सडक भाँसिएर यातायात प्रभावित भएपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप ह्वात्तै बढेको छ। सडकमार्ग असहज बनेसँगै यात्रुको माग धान्न भरतपुर विमानस्थलबाट काठमाडौं हुने उडान संख्या सामान्य अवस्थाको तुलनामा दोब्बरभन्दा बढी पुर्‍याइएको छ।

भरतपुरबाट काठमाडौं उडान गर्दै आएको बुद्ध एयरले सामान्य अवस्थामा दैनिक पाँचवटा उडान गर्दै आएको थियो। तर पृथ्वी राजमार्गको अवस्था बिग्रिएपछि उडान संख्या बढाएर दैनिक ९ देखि ११ वटासम्म पुर्‍याइएको बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए।

भरतपुर–काठमाडौं रुटमा सञ्चालन हुने ‘एटीआर–७२’ जहाजमा एकपटकमा अधिकतम ७२ यात्रु अट्ने क्षमता भए पनि भरतपुर विमानस्थलको छोटो धावनमार्गका कारण पूर्ण क्षमतामा यात्रु बोक्न नसक्ने एयरलाइन्सले जनाएको छ। काठमाडौंबाट भरतपुर आउँदा सामान्यतया ६५ देखि ७० जना तथा भरतपुरबाट काठमाडौं जाँदा करिब ५० जना यात्रु बोक्ने गरिएको छ।

सडकमार्गको अनिश्चिततासँगै हवाई यात्राप्रति यात्रुको आकर्षण बढेको बस्नेतले बताए। चितवनसँगै नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरलगायतका जिल्लाबाट समेत यात्रु भरतपुर विमानस्थल पुग्ने गरेका छन्। वर्षायाममा सडकमार्ग थप जोखिमपूर्ण हुने भएकाले यात्रुले हवाई यात्रालाई सुरक्षित विकल्पका रूपमा रोज्न थालेका छन्।

कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं पुग्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने भए पनि लामो दूरी र सडकको अवस्थाका कारण यात्रुको प्राथमिकता हवाई यात्रातर्फ बढेको हो। यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै बुद्ध एयरले उडान संख्या थपेर यात्रुलाई सहज बनाउने प्रयास गरिरहेको जनाएको छ।

Related Post