प्युठानमा जीप दुर्घटना, दुई बालबालिकासहित आठ जना घाइते

11 August, 2026 8 Views
प्युठानमा जीप दुर्घटना, दुई बालबालिकासहित आठ जना घाइते
8

प्युठानको झिमरुक गाउँपालिका–३ लामासेरामा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई बालबालिकासहित आठ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ। नारीकोटबाट बाग्दुलातर्फ आउँदै गरेको नमस्ते प्युठान यातायात प्रालिको लु.१ ज ४८३३ नम्बरको फोर्स जीप बाग्दुला–गौमुखी सडकखण्डमा दुर्घटनामा परेको हो।

प्रारम्भिक जानकारीअनुसार गुडिरहेको जीपको ब्रेक फेल भएपछि सडकमा पल्टिएको थियो। दुर्घटनाका बेला जीपमा चालकसहित १४ जना सवार थिए।

दुर्घटनामा घाइते सबै आठ जनालाई उद्धार गरी बिजुवारस्थित निमतारा पोलिक्लिनिकमा पुर्‍याइएको थियो। घाइतेमध्ये गौमुखी गाउँपालिका–७ नारीकोटका २८ वर्षीय रबी सुनारलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्य घाइतेको निमतारा पोलिक्लिनिकमै उपचार भइरहेको छ।

दुर्घटनामा नारीकोटका ५० वर्षीया गीता गिरी, २७ वर्षीया सावित्रा परियार, ३३ वर्षीया लक्ष्मी विक, २८ वर्षीय रबी सुनार, ३५ वर्षीया सीता रोका र उनका १० वर्षीय छोरा रबिन रोका घाइते भएका छन्।

त्यस्तै, सोही ठाउँका पाँच वर्षीय सरप्राइज केसी र गुल्मीको मदाने गाउँपालिका–१ की २८ वर्षीया शान्ता परियार पनि घाइते भएका छन्।

जीप गौमुखी गाउँपालिका–७ नारीकोटका २५ वर्षीय ऋषीराम केसीले चलाएका थिए। प्रहरीले दुर्घटनामा परेको जीप र चालकलाई नियन्त्रणमा लिएको छ।

ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी आए पनि दुर्घटनाको वास्तविक कारण प्राविधिक जाँच र अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनास्थलको अवस्था, जीपको यान्त्रिक स्थिति, सवारीको गति र चालकको बयानलगायत विषयमा अनुसन्धान गरिरहेको छ।

Related Post