काठमाडौं । बिहान ८:३७ बजे ४.४ रेक्टरस्केलको भूकम्प गएको थियो। त्यसको ३८ मिनेटमै, ९:१५ बजे तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी प्रवेश गर्यो। भूकम्पपछि सुरु भएको यो घटनाक्रमले केही घण्टामै भोटेकोशीदेखि नारायणीसम्म ठूलो जोखिम निम्त्यायो। बाढी पूर्वानुमान महाशाखाको प्रतिवेदनअनुसार जोखिममा रहेका ६ लाख ७९ हजार २९५ जनालाई एसएमएसमार्फत पूर्वसूचना दिइएको थियो।
बाढी बिहान १०:२८ बजे धादिङको गाल्छी पुगेको थियो। मलेखुको फुर्केस्थित जलमापन केन्द्रमा ११:२६ बजे सतर्कता तह र ११:४३ बजे खतराको तह पार गरेको थियो। त्यसपछि बाढीले जलमापन केन्द्र र पुलसमेत बगाएको थियो।
बाढी दिउँसो १ बजे मुग्लिन र ३:२० बजे नारायणी–देवघाट पुगेको थियो। देवघाटमा ४ बजे जलसतह ६.५७ मिटर पुगेको थियो भने नदीको बहाव प्रति सेकेन्ड ५ हजार ८५० घनमिटर मापन भएको थियो।
देवघाटबाट करिब ५७.४० मिलियन घनमिटर पानी प्रवाह भएको र त्यसमध्ये १९.९६ मिलियन घनमिटर अतिरिक्त बाढीजन्य आयतन रहेको प्राविधिक विश्लेषणले देखाएको छ।
बाढीको जोखिम बढेपछि नेपाल टेलिकम र एनसेलमार्फत ६ लाख ७९ हजार २९५ जनालाई एसएमएस अलर्ट पठाइएको थियो। सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट पनि निरन्तर सूचना दिइएको थियो। महाशाखाका अनुसार पूर्वसूचनाका कारण ठूलो मानवीय क्षति हुनबाट जोगाउन सहयोग पुगेको हो।
बाढीको सतह घटे पनि जोखिम पूर्ण रूपमा टरेको छैन। चीनतर्फ नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको र माथिल्लो भोटेकोशी क्षेत्रको अवस्था सामान्य नभएकाले भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपास उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।