काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको राजनीतिक अवस्था र विश्व राजनीतिबारे नेपालको दृष्टिकोण प्रस्तुत गरेका छन्।
‘फर द फ्रिडम अफ नेसन्स’ (राष्ट्रहरूको स्वतन्त्रताका लागि) विषयक विश्व सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका प्रचण्डले सम्मेलनमा दुई पटक सम्बोधन गरेको जानकारी दिए।
अखिल रुसी राजनीतिक दलको आयोजनामा भएको सम्मेलनमा ७६ देशका राजनीतिक दलका अध्यक्ष, नेता, पूर्वमन्त्री तथा पूर्वप्रधानमन्त्री सहभागी थिए।
प्रचण्डका अनुसार पहिलो सम्बोधनमा उनले नेपालको समसामयिक राजनीतिक अवस्थाबारे धारणा राखेका थिए भने दोस्रो सम्बोधनमा अन्तर्राष्ट्रिय राजनीति र बदलिँदो विश्व परिस्थितिबारे पार्टी तथा नेपालको दृष्टिकोण प्रस्तुत गरेका थिए।
अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न देशका राजनीतिक नेतृत्वसँग विचार आदानप्रदान गर्ने अवसरसमेत प्राप्त भएको उनले बताए।