काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको प्रमुख व्यापारिक तथा आवागमन मार्ग तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा चिनियाँ राजदूत चाङ माओमिङसँग भएको शिष्टाचार भेटका क्रममा मन्त्री खनालले नाका सञ्चालनका लागि आवश्यक पहल गर्न आग्रह गरेका हुन् ।
मन्त्री खनालले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदमा अन्य उच्च हिमाली नाकासमेत पूर्ण रूपमा सञ्चालन गर्न कठिन हुने अवस्था रहेको उल्लेख गरे ।
यस्तो परिस्थितिमा काठमाडौंसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका सञ्चालनमा ल्याउनु आवश्यक रहेको उनको भनाइ थियो ।
उनले तातोपानी नाका नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धको प्रतीकसमेत भएकाले दुई देशबीचको व्यापार, आवागमन र सम्पर्क सञ्जाल सहज बनाउन तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
जवाफमा चिनियाँ राजदूत चाङले तातोपानी नाका सञ्चालनका विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक काम अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।
भेटमा बाढीपछिको पुनर्निर्माण, नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा आपसी हित र चासोका विभिन्न विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।