रुसको ठूलो हवाई हमला : युक्रेनमा ३२ जनाको मृत्यु, १०० घाइते

08 October, 2026 52 Views
रुसको ठूलो हवाई हमला : युक्रेनमा ३२ जनाको मृत्यु, १०० घाइते
52

काठमाडौं । रुसले युक्रेनमा मिसाइल र ड्रोनबाट गरेको ठूलो आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। मृतकमा बालबालिकासमेत छन्।

आक्रमणमा आवासीय भवन, औद्योगिक संरचना र ऊर्जा पूर्वाधारमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

सबैभन्दा ठूलो क्षति उत्तरी युक्रेनको चेर्निहिभ क्षेत्रस्थित प्रिलुकीमा भएको छ। रुसी मिसाइल प्रहारबाट पाँचतले आवासीय भवन ध्वस्त हुँदा बिहीबार बिहानसम्म २२ जनाको मृत्यु भएको छ।

उद्धारकर्मीहरूले भग्नावशेषबाट १५ जनालाई जीवितै उद्धार गरेका छन्।

राजधानी किभमा पनि आक्रमणबाट चार जनाको मृत्यु भएको छ। किभनजिकै ड्रोनको भग्नावशेष खस्दा दुई जनाको मृत्यु भएको थियो भने भग्नावशेषबाट थप दुई शव फेला परेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार आक्रमणमा देशभर करिब १०० जना घाइते भएका छन्।

उनले रुसी आक्रमणलाई ‘सबैभन्दा घृणित आक्रमणमध्ये एक’ भन्दै जानाजान ठूलो क्षति पुर्‍याउने उद्देश्यले आक्रमण गरिएको आरोप लगाए।

जेलेन्स्कीका अनुसार रुसले रातभर युक्रेनतर्फ करिब ७० वटा मिसाइल प्रहार गरेको थियो। त्यससँगै दर्जनौँ शाहेद ड्रोन पनि प्रयोग गरिएको थियो।

युक्रेनी वायुसेनाका अनुसार ४६ वटा जेट इन्जिनयुक्त ड्रोनमध्ये ८० प्रतिशतभन्दा बढी खसालिएको थियो।

तर ब्यालिस्टिक मिसाइल अझै पनि युक्रेनका लागि मुख्य चुनौती बनेको जेलेन्स्कीले बताएका छन्। उनले प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली प्राप्त गर्न प्रयास भइरहेको बताए।

रुसको रक्षा मन्त्रालयले भने आक्रमण सैन्य–औद्योगिक संरचनालाई लक्षित गरेर गरिएको दाबी गरेको छ।

मन्त्रालयका अनुसार किभसहित चेर्निहिभ, किरोभोहराद, डिनिप्रोपेत्रोभ्स्क, पोल्टाभा र खार्किभ क्षेत्रमा स्थल, समुद्र र हावाबाट प्रहार गर्न सकिने हतियार तथा ड्रोन प्रयोग गरिएको थियो।

रुसले युक्रेनी रक्षा कम्पनी फायर पोइन्टका संरचनालाई समेत निशाना बनाएको जनाएको छ। उक्त कम्पनीले फ्लामिङ्गो क्रुज मिसाइल तथा मध्यम र लामो दूरीका ड्रोन उत्पादन तथा भण्डारण गर्दै आएको रुसी दाबी छ।

आक्रमणको चेतावनीपछि किभका धेरै बासिन्दाले रातभर भूमिगत मेट्रो स्टेसनमा आश्रय लिएका थिए।

यसैबीच जेलेन्स्कीले पछिल्लो २४ घण्टामा युक्रेनी सेनाले रुसका चारवटा लक्ष्यमा आक्रमण गरेको बताएका छन्। तीमध्ये दुई तेलसम्बन्धी संरचना र एउटा सैन्य प्रशिक्षण केन्द्र रहेको उनले बताए।

Related Post