काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। उनको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ।
राष्ट्रपति पौडेलले आजै बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। सो क्रममा उनले बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र उत्पन्न मानवीय संकटबारे नेपाली सेना तथा सम्बन्धित अधिकारीहरूबाट जानकारी लिएका थिए।
भदौ १० गते आएको बाढी तथा पहिरोबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। घटनामा हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भएको र ४ हजार ९ सय ९६ जना अझै बेपत्ता रहेको विवरण उल्लेख गरिएको छ। विभिन्न जलविद्युत् आयोजनामा कार्यरत केही व्यक्ति अझै सम्पर्कविहीन रहेको जनाइएको छ।