राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, दुईवटा अध्ययनकै क्रममा

09 October, 2026 127 Views
राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, दुईवटा अध्ययनकै क्रममा
127

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् । सरकारले जारी गर्न सिफारिस गरेका तीन अध्यादेशमध्ये राष्ट्रपतिबाट एउटा मात्रै जारी भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार विपद्सम्बन्धी अध्यादेश जारी भएको छ । भूमिसम्बन्धी र वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश भने राष्ट्रपति कार्यालयमा अध्ययनकै क्रममा रहेका छन् ।

भोटेकोशी क्षेत्रमा आएको बाढीलाई मध्यनजर गर्दै विपद्सम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्न अध्यादेश ल्याइएको हो । अध्यादेशमा विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न लाग्ने समय घटाउने व्यवस्था समेटिएको छ ।

हालको व्यवस्थाअनुसार १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने प्रावधान छ । प्रस्तावित व्यवस्थाले विपद्का घटनामा बेपत्ता भएका व्यक्तिलाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने व्यवस्था गरेको जनाइएको छ ।

त्यस्तै, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समेटिएको छ । उक्त अध्यादेश भने राष्ट्रपतिबाट जारी हुन बाँकी छ ।

अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि त्यसमा समेटिएका कानुनी व्यवस्था कार्यान्वयनमा आउनेछन् ।

Related Post