काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिएको छ । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले उनलाई विभागीय कारबाही गर्दै सेवाबाट हटाएको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दाहाललाई सेवाबाट हटाउने निर्णय भएको जानकारी दिएका छन् । मन्त्रालयको विज्ञप्तिअनुसार उनलाई आजैदेखि लागू हुने गरी बर्खास्त गरिएको हो ।
यसअघि सरकारले गत १९ असोजमा दाहाललाई निलम्बन गरेको थियो । सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरीले उनीमाथि कारबाही गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।
प्रचलित नियमअनुसार कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरण उल्लङ्घन गरेको आधारमा दाहालमाथि विभागीय कारबाही गरिएको मन्त्रालयले जनाएको छ । घटनाबारे जाँचबुझ गरी प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृतसमेत तोकिएको थियो ।
गृह मन्त्रालयले मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका गतिविधि, संवेदनशील तथा गोप्य सूचना चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको जनाएको छ ।