काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नेपालमा कार्यरत विदेशी चिकित्सकका शैक्षिक प्रमाणपत्र र दर्तासम्बन्धी विवरणमाथि छानबिन गरिरहेको छ।
काउन्सिलले १२ देशका २८३ जना विदेशी चिकित्सकका फाइल अध्ययन गरिरहेको जनाएको छ। यसअघि १४ जना चिकित्सकका प्रमाणपत्र नक्कली भेटिएको भन्दै उनीहरूको दर्ता प्रक्रिया रोकिएको थियो।
काउन्सिलका अनुसार सम्बन्धित देशका मेडिकल काउन्सिललाई प्रमाणपत्रको आधिकारिकता पुष्टि गर्न पत्राचार गरिएको छ। केहीको जवाफ आए पनि धेरैको आउन बाँकी छ। छानबिन तिहारपछि सम्पन्न गर्ने तयारी छ।
मेडिकल कलेजमा कार्यरत चिकित्सकसँगै निजी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा कार्यरत विदेशी चिकित्सकका विवरणसमेत जाँच गरिनेछ।
यस्तै, शिक्षा मन्त्रालयले पनि मेडिकल कलेजका शिक्षकहरूको विवरण अध्ययन गरिरहेको छ। नक्कली शिक्षक देखाएर कलेजको सिट वा मान्यता प्रभावित पारेको प्रमाण भेटिए सम्बन्धितलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ।