इनरुवा अस्पतालले भर्ना नलिएपछि महिलाले एम्बुलेन्समै बच्चा जन्माइन्

09 October, 2026 103 Views
इनरुवा अस्पतालले भर्ना नलिएपछि महिलाले एम्बुलेन्समै बच्चा जन्माइन्
103

काठमाडौं । सुनसरीको इनरुवा अस्पतालले भर्ना लिन नमानेपछि एक महिलाले एम्बुलेन्समै बच्चा जन्माएकी छन्।

कोशी गाउँपालिका–३ की लालु सदालाई प्रसव पीडा भएपछि परिवारले असोज २१ गते राति जिल्ला अस्पताल इनरुवा पुर्‍याएका थिए। तर, अस्पतालले स्वास्थ्य जोखिम रहेको भन्दै उनलाई विराटनगरस्थित कोशी अस्पताल रेफर गरेको थियो।

कोशी अस्पताल पुग्ने क्रममा अस्पताल परिसरबाहिरै एम्बुलेन्समा उनको प्रसूति भएको हो। हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोषप्रसाद साहले गर्भमा रहेको शिशुको मुटुको धड्कन अनियमित र आमाको हेमोग्लोबिन कम देखिएकाले सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको बताएका छन्।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पतालको व्यवहारप्रति आलोचना भइरहेको छ। स्थानीयले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

Related Post