जनकपुरधाम । जनकपुरधाममा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नै ज्यान मार्ने उद्योगको मुद्दा खेपिरहेका २२ वर्षीय मोहम्मद इर्साद खानलाई पक्राउ गरेको छ ।
बिहीबार राति करिब सवा ९ बजे जनकपुरधाम उपमहानगरपालिका–५ स्थित जानकी मन्दिर छेउको रहिमपथमा भएको घटनामा २४ वर्षीय आमिन साफीको मृत्यु भएको हो । छुरा प्रहारबाट २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार इर्सादले दुवै जनाको छाती र पेटमा धारिलो छुरा प्रहार गरेका थिए । घाइते राइनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । घटनापछि प्रहरीले इर्सादलाई पक्राउ गरेको छ । उनकी ४२ वर्षीया आमा सैमुख खातुनलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इर्साद यसअघि पनि ज्यान मार्ने उद्योगको आरोपमा अनुसन्धानको दायरामा थिए । २०८२ फागुन ३ गते उनले जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलका २६ वर्षीय मोहम्मद मुस्तफा राइनमाथि खुकुरी प्रहार गरेको आरोप छ ।
बकर इदका दिन इर्सादले मुस्तफालाई घरमा बोलाएर पसलमा लगेको र घाँटीमा खुकुरी राखेर काट्ने धम्की दिएको मुस्तफाको आरोप छ । त्यहाँबाट भाग्न खोज्दा इर्सादले पछाडिबाट खुकुरी प्रहार गरेको र त्यस क्रममा मुस्तफाको बायाँ हातमा चोट लागेको बताइएको छ ।
उक्त घटनापछि मुस्तफाले इर्सादविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले खोजी गरिरहेको भए पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।
प्रहरी प्रवक्ता खनालका अनुसार इर्सादलाई पक्राउ गर्न यसअघि पनि प्रहरी परिचालन गरिएको थियो । प्रहरी पटक–पटक उनको घरसम्म पुगे पनि उनी फेला नपरेको खनालले बताएका छन् ।
प्रहरीका अनुसार इर्सादलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतबाट गत असार ३१ गते नै पक्राउ अनुमति लिइएको थियो । जिल्ला प्रहरी कार्यालयले साउन १८ गते जानकी प्रहरी चौकीलाई पत्राचार गरेर उनको खोजी गर्न निर्देशन दिएको थियो ।
इर्साद सामाजिक सञ्जाल टिकटकमा पनि सक्रिय रहेको बताइएको छ । उनले ‘गुण्डा’ नामबाट टिकटक र ‘एमडी इर्साद खान’ नामबाट फेसबुक खाता सञ्चालन गर्दै आएका थिए । सामाजिक सञ्जालमा उनले अर्को समुदायलाई लक्षित गरी घृणा फैलाउने, हिंसालाई प्रोत्साहन गर्ने तथा गालीगलौज गर्ने प्रकृतिका भिडियो बनाएको आरोपसमेत लाग्दै आएको थियो ।
स्थानीयका अनुसार इर्साद लागुऔषध सेवन गर्ने व्यक्ति हुन् । यद्यपि, यससम्बन्धी आरोपको स्वतन्त्र पुष्टि भएको छैन । प्रहरीले पछिल्लो हत्या घटनासहित उनीमाथि लागेका आरोपबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।