काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारले आवश्यक कानुन निर्माण नगर्दा प्रदेश सरकारहरू प्रभावकारी रूपमा काम गर्न नसकेको बताएका छन् । विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रदेशलाई अधिकारसम्पन्न बनाउन आवश्यक कानुन निर्माणमा संघ सरकारले बेवास्ता गरेको आरोप लगाए ।
संघ सरकारले प्रदेशको खुट्टा बाँधेर दौडिन निर्देशन दिने गरेको उल्लेख गर्दै उनले काम गर्न नसकेको भन्दै प्रदेश सरकारमाथि नै आलोचना हुने गरेको बताए ।
‘हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, तर हाम्रो खुट्टा बाँधिएको छ,’ पाण्डेले भने, ‘खुट्टा बाँधेर दौडिन भन्दा दौडिन नसक्नु स्वाभाविक हो । अनि उल्टै नाच्न जान्दैन, आँगन टेढो भनेजस्तै टिप्पणी सुन्नुपरेको छ।’
मुख्यमन्त्री पाण्डेले यसअघिका प्रधानमन्त्रीहरूले प्रदेशलाई बलियो बनाउने आवश्यक कानुन निर्माणमा पर्याप्त चासो नदिएको आरोपसमेत लगाए । प्रधानमन्त्रीहरूसँगको छलफलमा प्रदेशका अधिकार र कानुन निर्माणको विषय उठाउँदा समाधान खोज्नुको साटो व्यंग्यात्मक टिप्पणी सुन्नुपरेको उनको भनाइ थियो । उनले वर्तमान प्रधानमन्त्रीसँग भने पर्याप्त छलफल गर्न नपाएको बताए ।
नेपालको संविधान २०७२ ले संघीय शासन व्यवस्था स्थापित गरे पनि राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा अझै केन्द्रीकृत सोच कायम रहेको पाण्डेको टिप्पणी छ । यही मानसिकताका कारण प्रदेशले पाउनुपर्ने अधिकार कार्यान्वयनमा समस्या देखिएको उनले बताए ।
‘चाहे राजनीतिक पार्टीका नेताहरू हुन् या कर्मचारीतन्त्रको नेतृत्व, सबैमा पुरानै केन्द्रीकृत मानसिकता हाबी छ,’ उनले भने । संविधानअनुसार आवश्यक कानुन निर्माण नभए संघीयताको औचित्य र कार्यान्वयनबारे पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो ।
पाण्डेका अनुसार संविधानसँग बाझिने पुराना कानुन र ऐन देखाएर प्रदेशका अधिकार प्रयोगमा समेत अवरोध सिर्जना भइरहेको छ । प्रहरी समायोजनमा २०१२ सालको प्रहरी ऐन, शिक्षा ऐन निर्माणमा २०२८ सालको शिक्षा ऐन तथा वनसम्बन्धी अधिकार प्रयोगमा २०४९ सालको वन ऐन बाधक बनेको उनले उदाहरण दिए ।
संघ सरकारले आवश्यक कानुन नबनाएका कारण प्रदेश सरकार अनिश्चितकालसम्म पर्खेर बस्न नसक्ने उनले स्पष्ट पारे । त्यसैले गण्डकी प्रदेश सरकारले आफ्ना अधिकार क्षेत्रभित्र पर्ने आवश्यक कानुन आफैँ निर्माण गरेर अघि बढ्ने उनको भनाइ छ ।
‘संघले कानुन नबनाइदिएका कारण हामी धेरै पर्खिन सक्ने अवस्थामा छैनौं । त्यसैले गण्डकी प्रदेश सरकारले अब आफ्ना कानुन आफैँ बनाउँछ,’ पाण्डेले भने । यद्यपि, प्रदेश सरकारले निर्माण गरेका कतिपय कानुन अदालतमा पुगेपछि कार्यान्वयनमा समस्या भइरहेको उनले बताए ।
प्रदेश सरकारहरूले संविधानले दिएको अधिकार पूर्ण रूपमा प्रयोग गर्न नसकेको विषय लामो समयदेखि उठ्दै आएको छ । मुख्यमन्त्री पाण्डेको अभिव्यक्तिले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, अधिकार बाँडफाँट र केन्द्र–प्रदेश सम्बन्धलाई थप प्रभावकारी बनाउनुपर्ने बहसलाई पुनः सतहमा ल्याएको छ ।