साम्प्रदायिक सद्भावको उदाहरण बन्यो नेपालगञ्जको धार्मिक सञ्जाल

03 August, 2026 47 Views
साम्प्रदायिक सद्भावको उदाहरण बन्यो नेपालगञ्जको धार्मिक सञ्जाल
47

काठमाडौं। सुनसरी घटनापछि साम्प्रदायिक तनाव फैलिन नदिन स्थानीय तहसम्म अन्तरधार्मिक संयन्त्र बनाउनुपर्ने बहस भइरहेका बेला, बाँकेको नेपालगञ्जमा २० वर्षदेखि सञ्चालनमा रहेको धार्मिक सद्भाव सञ्जाल सफल उदाहरणका रूपमा अघि आएको छ।

साउन १५ गते प्रधानमन्त्री बालेन शाहले मधेसकेन्द्रित दलका नेताहरूसँग गरेको छलफलमा जनमत पार्टीका अध्यक्ष सिके राउतले केन्द्रदेखि पालिकासम्म अन्तरधार्मिक संयन्त्र बनाउन प्रस्ताव गरेका थिए। स्थानीय स्तरमै विवाद समाधान गर्न सके तनाव अन्य ठाउँमा फैलिन नदिने उनको भनाइ थियो।

नेपालगञ्जमा भने यही अभ्यास दुई दशकदेखि चल्दै आएको छ। बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीको नेतृत्वमा रहेको धार्मिक सद्भाव सञ्जालले हिन्दु र मुस्लिम समुदायबीच संवाद, सहकार्य र आपसी विश्वास बढाउने काम गर्दै आएको छ।

यो सञ्जाल २०६३ सालमा नेपालगञ्जमा साम्प्रदायिक तनाव भएपछि गठन गरिएको थियो। त्यसयता कुनै पनि धार्मिक वा सामुदायिक विवाद देखिएपछि सञ्जालका प्रतिनिधि तत्काल घटनास्थल पुगेर दुवै पक्षसँग छलफल गर्ने, गलतफहमी हटाउने र संवादमार्फत समस्या समाधान गर्ने गरेका छन्।

सञ्जालका उपाध्यक्ष मौलाना अब्दुल जब्बारका अनुसार साना विवादलाई समयमै समाधान गर्न सके ठूलो तनाव हुनबाट रोक्न सकिन्छ। यही कारण स्थानीय प्रशासनले पनि विवादको अवस्था सिर्जना हुँदा सञ्जालसँग समन्वय गर्दै आएको छ।

देशभर साम्प्रदायिक सद्भाव कायम राख्ने उपायबारे बहस भइरहेका बेला, नेपालगञ्जको यो मोडल स्थानीय स्तरमा संवाद र सहकार्यबाट शान्ति कायम गर्न सकिने सफल अभ्यासका रूपमा हेरिएको छ।

 
 
 

Related Post