राहदानी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

03 August, 2026 13 Views
राहदानी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
13

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर तथा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र जारी गरेको अभियोगमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सोमबार काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ गरेको हो।
सीआईबीका अनुसार सहसचिव भट्टराईविरुद्ध राहदानी ऐनअन्तर्गत काठमाडौँ जिल्ला अदालतमा यसअघि नै मुद्दा दायर भइसकेको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा भट्टराईले परराष्ट्र मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदा फर्जी कागजातका आधारमा गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोप लागेको छ।

प्रहरीका अनुसार नेपालमा रहेका शरणार्थीलाई विदेश भ्रमणका लागि गृह मन्त्रालयको सिफारिस अनिवार्य हुने कानुनी व्यवस्था छ। तर, भारतीय शरणार्थी क्याम्पमा रहेका व्यक्तिहरूका नाममा समेत फर्जी कागजात तयार गरी यात्रा अनुमतिपत्र जारी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाबी गरिएको छ।

सीआईबीले यस्तो कार्यले मानव तस्करीको सञ्जाललाई सहयोग पुगेको आशंकासमेत व्यक्त गरेको छ। यही कारण जिल्ला सरकारी वकील कार्यालयले उनीविरुद्ध फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गरेको थियो।

हाल पक्राउ परेका सहसचिव भट्टराईलाई म्याद थप तथा थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको सीआईबीले जनाएको छ।

यस प्रकरणले सरकारी निकायबाट जारी हुने यात्रा अनुमतिपत्रको विश्वसनीयता, सुरक्षा प्रणाली र मानव तस्करी नियन्त्रणका उपायबारे गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

Related Post