वासिङ्टन डिसी । सन् २००९ मा अमेरिकाको टेक्सासस्थित फोर्ट हुड सैन्य शिविरमा गोली चलाएर १३ सैनिकको हत्या गरेका पूर्वमेजर निदाल हसनलाई दिइने मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथका अनुसार हसनलाई आगामी डिसेम्बर ३ मा फायरिङ स्क्वाडबाट मृत्युदण्ड दिने तयारी छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यसलाई स्वीकृति दिएको पेन्टागनले जनाएको छ।
तर हसनको दोषसिद्धि र सजायविरुद्ध पुनरावेदन प्रक्रिया बाँकी रहेकाले निर्धारित मितिमा मृत्युदण्ड कार्यान्वयन हुने निश्चित छैन।
सन् २००९ नोभेम्बर ५ मा सैनिक स्वास्थ्य परीक्षण केन्द्रमा गोली चलाउँदा १३ जनाको मृत्यु भएको थियो भने अन्य घाइते भएका थिए। घटनाका बेला अमेरिकी सेनामा मनोचिकित्सकका रूपमा कार्यरत हसनले सन् २०१३ को सुनुवाइमा आफूले गोली चलाएको स्वीकार गरेका थिए।
मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने निर्णयलाई केही कानुनविद्ले प्रचारमुखी र मध्ययुगीन सोचको संज्ञा दिएका छन्। अमेरिकामा दोस्रो विश्वयुद्धपछि फायरिङ स्क्वाडबाट मृत्युदण्ड दिन लागिएको यो पहिलो घटना हुने बताइएको छ।