सप्तरी, साउन ३१ । सप्तरीमा मोटरसाइकलमा शव बोकेर भाग्दै गरेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ भने घटनामा संलग्न अर्का एक व्यक्ति फरार रहेका छन्। घटनाको प्रकृति दुर्घटना हो वा हत्या भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा भएको घटनामा १४ वर्षीय किशोर मोहम्मद सादिकको मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा किशोरलाई ठक्कर दिएपछि शव मोटरसाइकलमा राखेर भाग्ने प्रयास गरिएको खुलेको प्रहरीले जनाएको छ।
मृतक शम्भुनाथ नगरपालिका–५ मोहनपुर निवासी मोहम्मद सदामका १४ वर्षीय एक्लो छोरा हुन्।
प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा खटिएको टोलीले शंकास्पद रूपमा गुडिरहेको बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकललाई पछ्याएको थियो। त्यसक्रममा मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर टाढा बोदेबरसाईन नगरपालिका–२ हुँदै खडक नगरपालिका–१ स्थित दिनाभद्री थान नजिक शव फालेर भाग्न खोजेका थिए।
स्थानीयवासीको सहयोगमा भारतको बिहार राज्य, मधुवनी जिल्ला, खतौनी पिपराहीका २८ वर्षीय मोहम्मद सादर नटलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का व्यक्ति भने फरार रहेकाले उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटना दुर्घटना हो वा योजनाबद्ध हत्या भन्ने विषयमा अनुसन्धान जारी रहेको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति बोदेबरसाईन नगरपालिका–५ स्थित सत्रुघ्न चोकमा सञ्चालित सोनु मिट हाउसका कामदार हुन्।
घटनाप्रति आक्रोशित मृतकका आफन्त तथा स्थानीयवासीले बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–६ कठौनामा करिब ३० मिनेट सडक अवरुद्ध गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि यातायात सञ्चालन पुनः सुचारु भएको छ।